अर्थ

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

२०७३ माघ २९ गते परीक्षण उडानमा आएको जहाज हेर्दै स्थानीय। तस्बिर : नागरिक

कालिकोट – १६ वर्षअघि कोटवाडा विमानस्थलमा ३६ जना कामदारको एउटै चिहान भएको थियो । ३६ जना एकै चिहान बनेको दिन कोटवाडाबासीका लागि नमेटिने दुःखको घाउ बनेको छ । २०५८ फागुन १५ गतेको पीडादायी घटना स्थानीयले स्मरण गरिरहेका छन् । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले अछामको मंगलसैनमा आक्रमण गरेपछि कोटवाडा विमानस्थलमा नेपाली सेनाले माओवादी भन्दै कामदारलाई गोली हानेको थियो।

कोटवाडाका स्थानीय र धादिङका कामदार गरी ३६ जनाको हत्या गरिएको थियो । सेनाले गोली हानेर हत्या गरेका व्यक्तिको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरेको थियो । कोटवाडाबासीका लागि त्यो दुःखको दिन थियो भने २०७३ साल माघ २९ गते खुसीको दिन थियो । त्यस दिन ३१ वर्षसम्म निर्माणाधीन विमानस्थलमा परीक्षण उडानको जहाज अवतरण गरेको थियो । त्यसयता कोटवाडामा एउटै जहाज आएको छैन। 

३१ वर्षपछि जहाज परीक्षण हुँदा खुसी भएका अनुहारमा फेरि निराशाका रेखा देखिन थालेका छन् । सशस्त्र द्वन्द्वको घाउले थला परेका स्थानीय अब जहाज आउँदैन कि भनेर निराश बनेका हुन् । विमानस्थल निर्माणकै क्रममा ३६ कामदार एकै चिहान हुँदाको क्षण सम्झँदा कठैबरा नभन्ने बिरलै होलान् । उक्त विमानस्थलमा हालसम्म २६ करोड रुपैयाँ लगानी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माणका क्रममा कामदार हत्या भएको दिन र सोही विमानस्थलमा जहाजले परीक्षण अवतरण–उडान गरेको दिन कोटवाडावासीले सम्झने गरेका छन् । विमानस्थल नजिकै घर भएकी मृगा विष्ट त्यो कालो दिनलाई सम्झेर विक्षिप्त हुन्छन् । सेनाको गोलीबाट छोरा गुमाएकी विष्ट त्यो दिन सम्झेपछि धरधरी दुःखका आँसु झार्छिन् । एक बालकसहित स्थानीय १९ र धादिङ, जोगीमाराका १७ कामदारलाई मृगा विष्टको घरको आँगनमै लाम लगाएर हत्या गरिएको थियो । साबिकको कोटवाडा–३, का ६ महिने बालक दिनेश विष्टलाई समेत सेनाले गोली हानेर मारेको थियो।

तत्कालीन राज्यबाट परिचालित सेनाले किलोसेरा वान, किलोसेरा टू, किलोसेरा थ्री, रोमियो, जंगल सर्च, केराबारी अप्रेसन लगायतका अप्रेसन चलाएको थियो । यहाँका स्थानीयका २२ वटा घर तीनतीन पटकसम्म आगो लगाएर खरानी बनाइएको थियो। 

परीक्षण उडान सफल भए पनि अब जहाज आउँछ, आउँदैन निश्चित छैन । जहाज बसेको दिन औधी खुसी देखिएका स्थानीयका अनुहारमा फेरि निराशामा रेखा देखिन थालेको छ। 

नौ महिनाअघि कोटवाडा सुनथराली विमानस्थमा जहाज पुग्दा हजारौंको संख्यामा जहाज हेर्नेको मेला लागेको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान हुने दिनमा ‘अबको एक महिनाभित्रै नियमित उडान हुन्छ’ भनेका थिए । कोटवाडा विमानस्थल शिलान्यास गरेको ३१ वर्षपछि परीक्षण उडान भएको थियो । ३१ वर्षसम्म निर्माणाधीन विमानस्थलमा यसरी जहाज अवतरण हुन्छ भन्ने स्थानीयले सोचेकै थिएनन् । जहाज नदेखेका स्थानीयलाई जहाज देखाउन र मिडियाबाजी परीक्षण गरिएको मात्र भएको स्थानीयको गुनासो छ।

स्थानीय हिरामणि उपाध्याय भन्छन्, ‘गाउँमा न सडक छ, विमानस्थल चालु छ । यी दुःखका दिन कहिलेसम्म बोकी राख्ने होला ।’ जहाज नियमित होला र सरर सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौं जाउँला सोचेका यहाँका नागरिकको चाहना पूरा हुन पाएन । यहाँका स्थानीय बिरामी हुँदा डोकोमा बोकेर सडकको पहुँच भएको स्थानसम्म लगेर गाडी चढाउनुपर्ने बाध्यता छ। 

यतिबेला कालिकोटको आकाशमा जहाज उडेर अन्यत्र जिल्ला गएको दृश्य मात्र देखिन्छ । तर जिल्लाको एक मात्र विमानस्थलमा जहाज कहिले आउला भनेर स्थानीय पर्खाइमा छन् । नौ महिनाअघि तारा एयरको जहाजले कोटवाडा विमानस्थलमा परीक्षण उडान गरेको थियो । परीक्षण उडान भएको दृश्य स्थानीयको मनबाट हटेको छैन । फेरि पक्कै आउँछ होला भनेकोमा एक वर्ष बित्न लाग्दासमेत जहाज नआएको स्थानीय गणेशकुमार विष्टले बताए।  

विमानस्थल निर्माण निकै सुस्त गतिमा भए पनि हुम्लाका जनप्रतिनिधि जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुँदा मात्र परीक्षण उडान भएको थियो । २०४२ सालमा निर्माण थालिएको विमानस्थलमा पहिलोपटक परीक्षण उडान हुनु कालीकोटका लागि खुसीको विषय थियो । अब पनि नियमित उडान गर्नुपर्ने एमालेका नेता विमल शाही बताउँछन् । एमाले कालीकोटका अध्यक्ष नेशनल शाहीले भने, ‘सुस्त गतिको निर्माणले विमानस्थल तयार हुन ढिलो भएकाले परीक्षण उडान ढिलो भएको थियो । अब चाँडै नियमित उडानमा सरकारले जोड दिनुपर्छ,’ उनले भने, ‘परीक्षण उडान हुनु कालीकोटबासीका लागि खुसीको घटना हो । अब उडान नियमित गर्न जरुरी छ।’ 

जीवनबहादुर शाही पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेको बेला महिनामा तीनपटक छड्के जाँच गरी अन्तिममा परीक्षण उडान गराएका थिए । विमानस्थल निर्माणको लागि करिब २६ करोड बजेट खर्च भइसकेको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ । पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु भनेको दुःखको कुरा भएको जिल्लावासीको गुनासो थियो । कर्णालीका मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । कालीकोटमा पनि बल्ल परीक्षण उडान मात्रै भएको छ ।

 

प्रकाशित: ४ आश्विन २०७४ ०६:२३ बुधबार

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित