अर्थ

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

आठराई – जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ। 

रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ। 

पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन्। आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट छ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन्। 

यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताए। वर्षात्को समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सञ्चालन हुँदैन। भण्डारीले भने, “रु ८० विद्युत् महसुल बुझाउन रु दुई हजारभन्दा बढी खर्च हुने गरेको छ।” 

यातायात सञ्चालनमा नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सञ्चालमा हुँदा म्याङ्लुङ बजार पुग्ने रु ७०० एकोहोरो यातायात खर्च लाग्छ। समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्। पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएकोे स्थानीयवासीको भनाइ छ। रासस 

प्रकाशित: ३० भाद्र २०७४ ११:३१ शुक्रबार

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई खर्च