अर्थ

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो सो-२०२३’मा सवारी साधन अवलोकनर्ताको भिड लागेको छ। मंगलबारबाट सुरु भएको अटो सोमा सवारी साधनका उपभोक्ताहरूको भिड लागेको हो।

अटोमोबाइल्स व्यवसायीको कुम्भ मेलाका रूपमा रहेको अटो सोमा नेपालमा चल्तीमा रहेका प्रायः सबै कम्पनीका विद्युतीय तथा पेट्रोलियम सवारी साधन अवलोकन गर्न पाइने भएकाले भिड लागेको हो। अटो सोमा १ सय २० स्टल रहेका छन्।

भदौ ३१ गतेसम्म चल्ने अटो सोको बुधबार दोस्रो दिन हो। अटो सोमा प्रख्यात सवारी साधन उत्पादन कम्पनीका गाडीहरू राखिएका छन्। उपभोक्ताको रोजाइ अनुसार न्यूनतम १३ लाख रूपैयाँदेखि माथिका चार पांग्रे सवारी साधन राखिएको छ। सोमा विभिन्न कम्पनीका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, अटो सामग्री प्रदर्शनीमा राखिएको छ।

नाडाका अनुसार सोमा १६ ब्रान्डका चारपांग्रे सवारी साधन, दुई दर्जन ब्रान्डका दुई पांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल प्रर्दशनीमा राखिएको छ। अटोमोबाइल्स क्षेत्रमा प्रयोग हुने लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरणका स्टल पनि रहेका छन्।

सवारी साधन खरिद गर्ने उपभोक्तालाई लक्षित गरेर करिब एक दर्जन बैंकले पनि आफ्ना स्टल राखेका छन्। सोमा ७५ हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ। अटो सोमा करिब २० अर्ब रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

दसैं-तिहारमा उपभोक्ताले नयाँ सवारी साधन किन्ने परम्परा रहेकाले चाडपर्वको पूर्वसन्ध्यामा नाडाले सो आयोजना गरेको हो। यहाँ विभिन्न कम्पनीले नयाँ सवारी साधन लन्च गरेका छन्।  

प्रकाशित: २८ भाद्र २०८० ०४:२४ बिहीबार

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड