अर्थ

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं—लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ।

कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर रु ६३ करोड ५० लाख पाँच हजार ३५३ बराबरमा खरिद बिक्री भएको छ। नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र आज बजार वृद्धि भएको बताइन्छ। धेरै कम्पनीले बोनस तथा नगद लाभांश वितरण गरिरहँदासमेत बजार ओरालो लागेपछि धितोपत्र बजारमा निराशा छाएको थियो।

नेपाल इन्भेस्टर्स फोरमले भने लगानीकर्तालाई संयम हुन र नआत्तिन आग्रह गरेको थियो।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज अधिकांश समूहको शेयर मूल्य बढेको छ। बैंकिङ ३६.९७, व्यापार १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलविद्युत् १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन ३४.११ र अन्य समूह १०.१४ बिन्दुले बढेको छ। रासस

 

प्रकाशित: २९ भाद्र २०७४ १२:४२ बिहीबार

शेयर बजार दोहोरो अंकले बढ्यो