अर्थ

खुम्चिँदै पदमार्ग, अन्नपूर्ण फेरोको पदयात्रा २८ बाट ५ दिनमा झर्यो

एबिसीको अवधि पनि ५ दिनमै खुम्चियो

पदयात्रामा रहेका पर्यटक। फाइल तस्बिरः नागरिक

पदयात्रा व्यवसायी टिकाराम सापकोटाले डेढ दशक अघिसम्म अन्नपूर्ण फेरोको पदयात्रामा जाने पर्यटकका लागि २८ दिनको प्याकेज बनाउँथे। सापकोटा आफै पनि अन्नपूर्ण फेरोको पदयात्राको क्रममा लमजुङबाट सुरु गरेर मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्कीको विरोठाँटी ओर्लिन्थे। २८ दिन अवधिको त्यो पदयात्रा अवधि अहिले पाँच दिनमा छोटिएको छ। अहिले मनाङको माथिल्लो क्षेत्र खाङसारसम्म गाडी उक्लेको छ। मुस्ताङमा मुक्तिनाथसम्म गाडी पुग्छ।  

अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनै बेला विश्वकै उत्कृष्ट पदमार्गको सूचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यवसायीको चिन्ता छ।  

‘२८ दिनको पदयात्रा अवधि अब पाँच दिनमा झरेको छ। त्यो पनि गाडी चढेर एकै पटक उच्च भेगमा पुग्दा अल्टिच्यूडको समस्या हुने भएकोले अनुकूलन हुनका लागि केही दिन लाग्ने हो। नत्र नितान्त पदयात्राको अवधि त दुई दिनमै झरिसकेको छ,’ सापकोटा भन्छन्  ‘पदयात्रा क्षेत्र अब सकिनै थाल्यो, यसले पर्यटनमा मात्र नभई स्थानीयको आयस्तरमा पनि असर पारेको छ । पर्यावरण पनि बिग्रेको छ।’

मोटरबाटोले दूरी घटाएपछि अन्नपूर्ण फेरोको पदयात्रामा जाने पर्यटक अहिले अन्यत्र डाइभर्ट भएको उनले बताए। पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटाले भने, ‘पदयात्रा बिना पर्यटन क्षेत्रको कल्पना गर्न सकिन्न। नेपाल आउने अधिकांश पर्यटक पदयात्राका लागि आउने हुन्, तर पदमार्ग नै नरहे पदयात्रा पर्यटन जोगिन सक्दैन।’

पदयात्रा व्यावसायीका अनुसार अन्नपूर्ण फेरोको पदमार्ग मोटरबाटोले ध्वस्त भएको एउटा उदाहरण मात्र हो, सबैजसो पदमार्गको पदयात्रा अवधि छोटिएको छ। सापकोटाका अनुसार अन्नपूर्ण आधार शिविर (एबिसी) सम्मको १० देखि १५ दिनको पदयात्रा अवधि अहिले घटेर ५ दिनमा झरेको छ।

कुनैबेलाको मुक्तिनाथसम्मको १४ दिनको पदयात्रा अहिले शुन्यमा झरिसक्यो। किनकी मुस्ताङको मुक्तिनाथ मन्दिरको निकै नै नजिकसम्म गाडी पुग्छ। घोरेपानी–पुनहिलसम्मको एकसाताको पदयात्रा अवधि पनि अहिले घटेर ३ दिनमा झरेको छ। मनास्लु र धवलागिरी क्षेत्रको पदयात्रा अवधि पनि अहिले घट्ने क्रममा छ। किनकी हरेक दिन अहिले मोटरबाटो हिमालतिर उक्लिने क्रममा छ।  

‘एकदशक अघिसम्म नेपाल भित्रिएका पदयात्री पर्यटकमध्ये ६० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जान्थे, अहिले त्यो आकार निकै नै खस्केको छ,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकको आकार खुम्चेर २५ प्रतिशतमा झरिसकेको छ। यस्तै अवस्था आउने हो भने अबका दिन पदयात्रा पर्यटन झनै जोखिममा पर्नेछ।’ पदयात्रा क्षेत्रमा खनिएका मोटरबाटोमा अहिले गाडीको रुट बनेको उनले बताए।

अर्का पदयात्रा व्यावसायी उदय सुवेदीले योपटक विदेशी पाहुनाको एउटा समूहका लागि २६ दिनको पदयात्रा प्याकेज बनाएका छन। तर, सुवेदीले २६ दिनको प्याकेज बनाएर ती पर्यटकलाई घुमाउन निकै नै सकस देखेका छन। त्यसको कारण हो–सबैतिर मोटर पुगेको छ। पैदल हिडाउने गरि पदयात्राको प्याकेज बनाएपनि त्यो समय पु¥याउन उनलाई निकै नै कठिन छ। सुवेदी भन्छन, ‘सबैतिर मोटरबाटो पुगेको छ। ती पर्यटकलाई २६ दिनसम्म कताकता हिडाउने भन्ने चिन्ता छ। किनकी ती पर्यटकलाई नितान्त पदयात्रा गराउने सर्त छ।’  

सबैजसो पदयात्रा रुटमा मोटर पुगेर पदमार्ग सकिन थालेपछि सुवेदीले ती पर्यटकलाई धेरैतिरका पदयात्रा रुटमा लैजाने योजना बुनेका छन। ‘अन्नपूर्ण फेरोमा ५ दिन बाँकि छ, आधारशिविर क्षेत्रको पनि पाँचैदिनमा पुरा हुन्छ। त्यसैले प्याकेज पुरा गर्नकै लागि मर्दी हिमालसम्म लैजानुपर्ने हुनसक्छ। नत्र पैदल हिड्ने ठाउँ नै छैन। सबैतिर मोटर पुगेको छ, मोटर देखेपछि पर्यटक मात्र नभई गाइड पनि अल्छि गर्ने रहेछन,’ उनले भने, ‘विदेशीले खोज्छन पदयात्रा तर, हामी दिन नसक्ने अवस्थामा पुगिसक्यौ।’

अन्नपूर्ण फेरो विश्वमै कहलिएको पदमार्ग हो। वर्षमा करिब ३० हजार विदेशी पर्यटकले अन्नपूर्ण फेरोको पदयात्रा गर्छन्। सन् २०१८ मा २९ हजार पाँच सय विदेशीले फेरोको पदयात्रा गरेका थिए। त्यो संख्या सन् २०१७ मा २७ हजार थियो। सन् २०१६ मा फेरोको पदयात्रामा जाने पदयात्रीको संख्या २२ हजार हाराहारीमा थियो। फेरोको पदयात्रामा गएका पर्यटकमध्ये केहीले तिलिचो ताल घुमेर फर्किन्छन् भने कतिपयले थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कन्छन्। कोरोना संक्रमणपछिको पदयात्रीको आकार निकै नै कम रहेको छ। त्यस्तै सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६ सय ८३ विदेशी पर्यटक गएका थिए। त्यो संख्या घटेर सन् २०१९ मा २८ हजार आठ सय ६० मा झरेको थियो।  

व्यावसायीका अनुसार मोटरबाटोले पदमार्ग ध्वस्त हुँदा त्यसको असर पर्यटन क्षेत्रमा त परेको छ नै त्यसले स्थानीयको आयआर्जन पनि खुम्च्याएको छ। अन्नपूर्ण फेरोमा आउने पर्यटक डाईभर्ट भएर सगरमाथा र खुम्बु क्षेत्रमा जान थालेका छन।

 ‘जहाँजहाँ पदमार्ग छ, त्यही पदमार्गलाई पच्छ्याउँदै मोटरबाटो खनिएको छ। त्यसले गर्दा बाटोमा पर्ने स्थानीय व्यावसायी बिस्थापित भएका छन। पुरानो बाटोमा कोही पनि पदयात्री हिड्दैनन। गाडी चढेर एकैपटक लामो गन्तव्य पार गर्न सक्ने भएकोले बीचको बाटोका व्यावसायी पनि बिस्थापित भएका छन,’ बोर्डका पूर्व सदस्य सापकोटाले भने।  

पदयात्रा क्षेत्रको पुरानो मार्गको अस्तित्व मेटिनेगरि मोटरबाटो जाँदा पर्यटकको बसाई अवधि पनि घटेको सापकोटा बताउँछन। ‘हिजोको पदमार्गमा मोटर गुड्न थाल्यो, पदमार्गका सिढीं र झोलुंगे पुल भत्काइयो,’ उनले भने, ‘पर्यटकलाई विकल्प दिनुपर्ने हो । मोटरबाटोलाई विकल्प दिएर पुरानो पदमार्ग जोगाएको भए पर्यटन जोगिन्थ्यो। तर, सबैतिर ध्वस्त भईसकेको छ।’ 

पदयात्रा नेपालको मौलिक उत्पादन भएपनि त्यो ध्वस्त हुँदै जाँदा पनि सरोकारवाला निकाय चिन्तित हुन नसकेको उनले बताए। ‘मोटरबाटो बनाउनु हुँदैन भनेर भन्दैनौ। तर, पदमार्ग ध्वस्त नबनाई विकल्प दिनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने।

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष गोपि भट्टराई पनि पदयात्रा मार्ग सकिँदै जाँदा पर्यटनमा चिन्ता थपिएको बताउँछन। कुनै बेला नेपाल भित्रिएका मध्ये अधिकांश पर्यटकको चाहना पदयात्रामा जाने हुन्थ्यो, तर, अहिले पदमार्ग ध्वस्त हुँदै जाँदा पर्यटन खुम्चिएको उनले बताए।

 ‘केहीवर्ष अघिसम्मको ट्रेकिङ रुट अब गाडीको रुट बनेको छ। पदयात्रा सकिनु भनेको पर्यटन सकिनु हो,’ भट्टराईले भने, ‘ट्रेक सकिनु भनेको पर्यटन सकिनु हो भन्ने नबुझेसम्म यो अवस्था रहिरहन्छ।’ पदयात्रा सकिँदा पर्यटनको क्षेत्रमा भएको लगानी पनि कमजोर हुनु उनले बताए।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी पनि पदमार्ग सकिँदै गएकोमा चिन्तित छन्। पूर्वाधार मात्र समृद्धिको आधार देख्दा यो अवस्थामा आएको उनले बताए। ‘पूर्वाधार मात्र समृद्धिको आधार भनेर बुझियो। त्यही भएर रातारात मोटरबाटो खनियो। सडक बिस्तार गर्दा पर्यटनलाई कस्तो असर पर्छ भनेर खोज्ने प्रयास नै गरिएन,’ उनले भने, ‘अब त लामो दूरीको ट्रेकिङ नै सकियो। नयाँ रुटको खोजी जारि छ। नयाँ रुट पनि पुरानाजत्तिको लामो हुँदैनन। किनकी धेरैठाउँसम्म मोटर पुगिसकेको छ।’

प्रकाशित: २४ भाद्र २०८० ०८:५९ आइतबार

मोटरबाटो अन्नपूर्ण फेरो पदयात्रा पर्यटन