अर्थ

तिप्ल्याङ जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न

आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले खरिद बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन्।

अहिले ५८ मेगावाट क्षमताको विद्युत् खरिद बिक्री सम्झौता भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरी सकेकाले बाँकी क्षमताको पनि छिटै खरिद बिक्री सम्झौता गरिने भएको छ।

आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा रहेको छ। आयोजना मध्य कालीगण्डकी जलविद्युत् आयोजना र मिस्त्री खोला २ आयोजनाको क्यास्केडको रूपमा विकास गरिएको हो। प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खा याममा ८।४० रूपैयाँ प्रति युनिट र वर्षा याममा ४।८० रूपैयाँ प्रति युनिट र व्यापारिक उत्पादन सुरु मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि गरी खरिद गर्ने भएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति प्राधिकरणको निर्माण सम्पन्न भैसकेको कालीगण्डकी करिडोर अन्तर्गत दाना सव स्टेशनमा जोडिने छ।

आइएमई समूहबाट प्रवर्धित हाईड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ। दुबै आयोजनाको कूल विद्युत् क्षमताबाट सुक्खा याममा २९५।४६८ र वर्षायाममा ६३०।८९५ गरी कुल वार्षिक ९२६।३६५ गिगावाट आवर उर्जा उत्पादन हुनेछ।

 उपरोक्त दुवै आयोजना २०८६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। आयोजनाको कुल लागत तेत्तीस अर्ब १४ करोड रूपैयाँ रहेको छ। आयोजनामा स्वपुँजी लगानी आइएमई समूह लगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाको लागि नविल बैंक लिमिटेडको अगुवाइमा प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित: २१ भाद्र २०८० ०३:२३ बिहीबार

तिप्ल्याङ जलविद्युत् आयोजना विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न