अर्थ

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

आन्तरिक उडानमा मात्र सिमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक आगामि शनिबार व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुँदैछ। भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्दैछ। पोखराबाट त्यहीदिन यात्रु लिएर जहाज पारो जानेछ।

श्रोतका अनुसार ड्रुकको यो जहाजमा ११८ जना यात्रु पोखराबाट उडेर पारो जाँदैछन्। तर पारोबाट पोखरामा कतिजना आउँदैछन् भन्ने यकिन छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु लिन आएको ड्रुकको जहाजले पोखरामा एकघण्टा मात्र बिताउनेछ। त्यसपछि पोखराबाट सिधै पारोका लागि उडान भर्नेछ। एयरबस ३१९ वा ३२० मध्ये एउटा जहाज पोखरा आउने विमानस्थल प्रवक्ता जशोदा सुवेदीले बताईन् ।  

भीआईपी पाहुना लिन आउँदैछ ड्रुृक

ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ती पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। ड्रुकको नेपालस्थित जिएसए डाँफे ट्राभलका संचालक पवित्रकुमार कार्कीका अनुसार तिनै पाहुना लिन पारोबाट जहाज पोखरा आउन थालेको हो। यूरोपियन मूलका ती पाहुना काठमाडौं ओर्लिसकेका छन्। नेपालमा तीनरात बिताएर ती पाहुना पोखरा हुँदै सिधै पारो जानेछन्।  

४० जना ती पाहुना विहीबार बिहान हेलिकप्टर चार्टर्ड गरेर एभरेष्ट क्षेत्रको दृष्यावलोकनमा जाँदैछन्। शुक्रबार बिहान हेलिकप्टरबाटै उनीहरु कुरिनटार ओर्लिनेछन। कुरिनटारमा त्रिशुलीमा ¥याफ्टिङपछि ती पाहुना हेलिकप्टरबाटै पोखरा जानेछन्। शुक्रबार पोखरा आउने ती पाहुना शनिबार पोखराबाट पारोका लागि उडान भर्नेछन्। ती पाहुनालाई घुमाउने गरि नेपालमा आठवटा हेलिकप्टर चार्टर्ड गरेको पनि कार्कीले जानकारी दिए।  

‘कुन मुलुकका पाहुना हुन् भन्ने यकिन जानकारी छैन। तर, ती पाहुना भीआईपी हुन्। खर्चिला ती पाहुनाले नेपालमा तीनरात बिताउँदैछन्,’ उनले भने, ‘एक भारतीय एजेन्टले नै जहाज चार्टर्ड गरेको हो।’ 

पोखराबाट पारो जाने यात्रु भएपनि पारोबाट पोखरा आउने यात्रु नभएपछि ड्रुकले यात्रुका लागि टिकट बुकिङ समेत खुला गरेको कार्कीले जानकारी दिए। ‘पारोबाट पोखरा जाने यात्रु कोही भए लैजान सकिने भनेर टिकट खुलाएको छ, तर, त्यत्तिधेरै यात्रुले बुकिङ गरेका छैनन,’ उनले भने, ‘तर, पोखराबाट पारोका लागि भने अतिरिक्त टिकट खुला गरेको छैन।’  

भीआईपी पाहुना नेपाल आउने र उनीहरुले नेपालमा तीनदिन बिताउँदा त्यसले पर्यटनमा सकारात्मक सन्देश दिलाउने कार्कीले बताए। ‘भीआईपी पाहुना आउनु आफैमा सुखद् हो। उनीहरुले गर्ने खर्च पनि रामै्र हुनेछ, त्यसले नेपालको पर्यटनबारे राम्रो सन्देश फैलाउनेछ,’ कार्कीले भने।  

प्रकाशित: २० भाद्र २०८० १०:४४ बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी पाहुना ड्रुक एयर