अर्थ

स्याउ बगैंचामा भालु आतंक

जुम्ला- चन्दननाथ २ का खड्ग बहादुर सेजुवालको चुतेढुंगा स्थित स्याउ बगैचामा भालु लागेको साता भइसकेको छ। भालुले स्याउका डाला भाँच्नुका साथै स्याउका दाना खाने गरेको छ। बगैचा जंगलको बीचमा भएकोले भालु आवत जावतमा सहज भईरहेको खड्ग सेजुवाल बताउँछन। यो वर्ष मात्रै उनको १० क्वीन्टल स्याउ भालुले खाएको हो। बगैचामा रहेका स्याउका हाँगाबिगा भाचेकोले स्याउका बिरुवा सुक्दै जाने खतरा बढेको किसान बताउँछन।

 'भालुको सिकार गर्न पाईदैन', स्याउ किसान सेजुवालले भने, 'दुई तीन दिन देखि बगैचामा आगो बालेर बस्ने गरेको छौ, भालु भगाउन मुस्किल परेको छ। पटका लिएर पट्काउने,भाडाकुडा बजाउने र मान्छे कराईको कराई गर्ने गरेका छौ।  तर भालुले बगैचामा पस्न छाडेको छैन।' सेजुवालको बगैचामा २७५ स्याउका बिरुवा छन। ९२ विरुवामा स्याउ फलेको छ । गोल्डेन, रेड डेलिसियस र जोनाथन जातको स्याउ लगाइएकोमा गोल्डेन जातको स्याउमा भालु बढी लागेको उनले बताए। घरदेखि झण्डै एक घण्टाको पैदल दुरीमा रहेको बगैचामै एक्लै बस्न नसकिने र भालुको त्रासका कारण छिमेकी बगैचा भएका किसान जान नमान्ने भएकोले भालुको मनपरि चल्दै आएको उनको भनाई छ।

उनको बगैचा आसपासका सबै बगैचामा भालु पल्केको छ । भालु कति खेर, कसरी आउँछ पत्तो हुदैन, एक्कासी खाएर भागेको पाईला हेरेर मात्रै थाहा हुन्छ। चन्दननाथ नगरपालिकाकै कर्ण वहादुर वुढ्थापाको रातामाटा स्थित बगैचामा भालु लागेको दुई दिन भयो। दुई दिनमा ५ क्वीन्टल बरावरको स्याउ नष्ट गरिसकेको छ। भालुले स्याउ संगै मकै, आलु खाने गरेको वुढ्थापा बताउछन।

'सधै एकै बगैचामा भालु आउँदैन', उनले भने, 'दिन फेरेर भालु बगैचामा पस्छ।' चन्दननाथ नगरपालिका क्षेत्रका अधिकांस स्याउ किसानको बगैचामा भालु पल्केको छ । भर्खर रुपमा कलर दिएर रस भरिदै आएको स्याउमा भालु लागेकोले किसानलाई मर्का परेको छ। स्थानीय नवराज शाही भालु पल्किसकेकोले भगाउनको लागि प्रहरी प्रशासनलाई हार गुहार गर्नु पर्ने बताउछन।

प्रकाशित: ९ भाद्र २०७४ १४:३४ शुक्रबार

स्याउ बगैंचामा भालु आतंक