अर्थ

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

विराटनगर– पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात/निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ। 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोगमा ल्याउने सहमति भएको हो। 

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले वैकल्पिक नाका सञ्चालनका लागि आवश्यक कागजात सीमावर्ती भारतीय भन्सारलाई बुझाई सकिएकाले सम्भवतः आजैबाट वैकल्पिक नाका सञ्चालन हुने जानकारी गराए। सो मार्ग भएर विराटनगरसम्म सामानको निकासी÷पैठारी गर्न ७० किलोमिटर दूरी तय गर्नु पर्दछ। 

भारतको फारविसगञ्ज–जोगवनी मार्गमा पर्ने मिरगञ्ज पुल बाढीले क्षतिग्रस्त बनाएपछि विगत पाँचदिनदेखि जोगवनी–विराटनगर नाकाबाट आयात/निर्यात ठप्प भएको हो। सो पुल मर्मत नभएसम्म वैकल्पिक मार्गबाट आयात/निर्यात सञ्चालन रहने प्रजिअ आचार्यले बताए। सो मार्ग बन्द भएपछि भारतमा पाँच सयभन्दा बढी कन्टेनर अलपत्र भएका छन् । रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०९:२५ बिहीबार

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा