अर्थ

स्वेतगंगामा युरोपेलीको ३२ करोड लगानी

काठमाडौं- युरोपको एक निजी कम्पनी 'डोल्मा इम्प्याक्ट फन्ड' ले नेपाली जलविद्युत कम्पनी स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पब्लिक लिमिटेड कम्पनीमा लगानी गरेको छ।

सानिमा हाइड्रो ग्रुपअन्तर्गतको स्वेतगंगामा बेलायतको डोल्मा इम्प्याक्टले विदेशी लगानीकर्ताका रूपमा ३२ लाख अमेरिकी डलर (३२ करोड रुपैयाँ) लगानी गरेको हो। स्वेतगंगाले २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ५ अर्ब रुपैयाँ लागतमा यो आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ।

डोल्माका संस्थापक टिम गोचरलाई गत बिहीबार स्वेतगंगाका अध्यक्ष विनयकुमार श्रेष्ठले ३२ लाख कित्ता सेयरको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 'डोल्माको लगानीले निजी क्षेत्रलाई सशक्तिकरण गर्नुका साथै नयाँ रोजगारी सिर्जना गर्न मद्दत पुग्ने छ,' डोल्माका लगानी प्रबन्धक शव्द ज्ञवालीले भने।

सानिमा हाइड्रोले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजनासहित तीन आयोजना निर्माण गरेको छ। सानिमा माई जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ सानिमा हाइड्रो ग्रुपलाई चिनाउने भएका कारण डोल्माबाट आएको लगानी सानो भए पनि अर्थपूर्ण हुने बताए।

डोल्मा नेपालमा लगानी केन्द्रित गरेको अन्तर्राष्ट्रिय स्तरको पहिलो निजी कम्पनी हो। यसले २ करोड ६० लाख डलर (२ अर्ब ६० करोड रुपैयाँ) बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ। त्यसबाहेक जलविद्युत, औषधी कम्पनी, सूचना प्रविधि कम्पनी र अन्य केही क्षेत्रमा लगानी गर्ने तयारी पनि गरेको छ।

डोल्माले सुरुमा दोलखामा रहेको ६.४ मेगावाटको सुरीखोला जलविद्युत आयोजनामा ११ लाख ३० हजार डलर (११ करोड ३० लाख रुपैयाँ) लगानी गरेको थियो। त्यसपछि सूचना प्रविधि कम्पनी क्लाउड फ्याक्ट्री ग्रुपमा ३५ लाख डलर (३५ करोड रुपैयाँ) गरेको थियो। त्यसयता औषधी कम्पनी रोडोडेन्ड्रन बायोटेक प्रालिमा लगानी गर्ने अन्तिम तयारी गरे पनि रकम खुलाएको छैन।

प्रकाशित: ४ भाद्र २०७४ ०५:३९ आइतबार

स्वेतगंगामा युरोपेलीको ३२ करोड लगानी