अर्थ

प्रधानमन्त्रीको चीन भ्रमणः विमानस्थल र कोरला नाकालाई प्राथमिकतामा राखिदिनुस्

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखराबारे उठ्नुपर्ने विषयबारे आयोजित छलफल। तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको आठ महिना बितिसकेको छ। चिनियाँ ठेकेदार कम्पनी र चिनकै ऋण सहयोगमा बनेको यो विमानस्थलमा अहिलेसम्म एक पटक मात्र चीनबाटै आएको जहाज अवतरण गरेको बाहेक अरू अन्तर्राष्ट्रिय उडानको अहिलेसम्म यकिन छैन।

चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे बाहेक नियमित उडानको कुनै तयारी छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन अवस्थामा रहिरहँदा यहाँका व्यावसायी चिन्तित छन्। अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि अहिलेसम्म आन्तरिक उडानमै विमानस्थल सीमित हुनुपरेको उनीहरुको गुनासो छ।

आन्तरिक उडानमा मात्र सीमित भएको विमानस्थलबाट पर्यटन क्षेत्रले लाभ लिन नपाएको गुनासो व्यावसायीहरुले गरिरहेका छन्। पर्याप्त पाहुना नआउँदा पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थाबाट गुज्रिरहेको व्यवावसायीले बताउँदै आएका छन्। द्वन्द्वकालमा भन्दा पनि कम अकुपेन्सीमा अहिले पर्यटन क्षेत्र रहेको व्यवासायीको भनाइ छ।

व्यावसायीले यही गुनासो सुनाईरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानुअघि पोखरा पनि आउँदैछन। चीन निस्कनुअघि पोखरा आएका प्रधानमन्त्रीलाई चीन भ्रमणताका गर्नुपर्ने केही पहलका लागि पोखराका व्यावसायीले स्मरणपत्र बुझाउने तयारी थालेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ अन्तिममा अमेरिका जान लागेका प्रधानमन्त्री दाहाल असोज ५ देखि ७ सम्म चीनमा रहनेछन्।

व्यावसायीले प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउँदै पहिलो प्राथमिकता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरदेखि नियमित उडानको पहल गरिदिन आग्रह गर्ने बताएका छन्। विमानस्थलसम्म नियमित उडानसँगै चीनसँगका उत्तरी नाका खुलाउन पहल गर्न पनि व्यावसायीले प्रधानमन्त्रीसँग अनुरोध गर्ने तयारी थालेका छन्। चीन भ्रमणमा जान थालेका प्रधानमन्त्रीसामु के र कस्ता योजना पेश गर्ने भनेर व्यावसायीले छलफल समेत गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनकै ऋण सहयोगमा विमानस्थल बनेकोले नेपाल सरकारको कुरा चीनले सुन्नेमा आफू विश्वस्त रहेको बताए।

‘पोखरासम्म चिनियाँ सहरबाट सिधा उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्छ। नेपाल सरकारको यो प्रस्तावलाई चीनले पक्कै सुन्नेछ,’ मुल्मीले भने। चीन सरकारले विमानस्थल बनाउन दिएको ऋणलाई अनुदानमा बदल्न पनि प्रधानमन्त्रीले यो भ्रमणमा पहल गर्नुपर्ने उनले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण आकारमा नचल्दा विमानस्थलले ऋण तिर्न समेत सक्ने अवस्था रहन्न। पूर्ण आकारमा विमानस्थल चलेमा ऋण तिर्न गाह्रो हुँदैन,’ उनले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय उडान आवश्यक छ।’ 

त्यसबाहेक अहिले बिस्तार भइरहेको पोखरा–मुग्लिन सडकको काम छिटो सक्न दबाब दिन पनि व्यावसायीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उनले बताए। पोखरामा पर्याप्त चिनियाँ पाहुना भित्र्याउन पहल गर्न पनि व्यवसायीले प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउने उनले बताए।

यसअघि प्रधानमन्त्री दाहालले नै पोखराका व्यावसायीसँगको भेटघाटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैंले विशेष पहल गर्ने बताएका थिए। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए। ‘म छिट्टै चीन भ्रमणमा जाँदैछु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला छ,’ व्यावसायीसँगको त्यो भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले भनेका थिए ‘भारत भ्रमणमा जाँदा पनि कुरा भएको छ । अन्तर्राष्ट्रिय उडान पक्का हुन्छ।’

उनले मुस्ताङको कोरला नाका संचालनबारे पनि सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक पूर्वाधार निर्माण लगायतका काम हुने जानकारी गराएका थिए। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देशबीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताएका छन्। व्यावसायीले भने अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तारमा साह्रै ढिलासुस्ती भएकोले राजमार्ग बिस्तारमा चाँसोदिन पनि प्रधानमन्त्रीलाई आग्रह गर्ने तयारी गरेका छन्।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले जतिसक्दो छिटो कोरला नाका खुलाएर तिब्बत हुँदै पर्यटकलाई आउजाउ गराउँदा पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए। नाका खुलाउने हो भने सबैभन्दा बढी कैलाश मानसरोवर जाने धार्मिक पर्यटकलाई आकर्षण गर्न सकिने उनले बताए। अहिले कोरलामा तीब्बततर्फ चीनले ठुला र भव्य संरचना बनाईसकेको अवस्थामा नेपालतर्फको अवस्था भने कमजोर रहेको छ। नेपालतर्फका संरचना बलियो बनाएर नाका खुलाएर आउजाउ सहज बनाउनुपर्ने व्यावसायीको माग छ।

‘वर्षेनी लाखौँ भारतीय पाहुना कैलाश मानसरोवर जान्छन्, उनीहरु अहिले हुम्ला हुँदै जाने गरेका छन्,’ उनले भने, ‘कैलाश मानसरोवर जाने तिनै भारतीयलाई पोखरातर्फबाट लैजान सकियो भने पर्यटनमा फाइदा हुन्छ।’

अहिले भारतीय तीर्थयात्रीहरु नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण नाका हुम्लाको हिल्सा हुँदै मानसरोवरसम्म आउजा गर्ने गरेका छन्। यो नाका आर्थिक रुपमा कमजोर भएपनि पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ। यो नाका पार गरेर तिब्बत प्रवेश गरेको एक दिनमै कैलाश मानसरोवर पुग्न सकिन्छ।  ‘अहिलो ठुलो संख्यामा भारती पाहुनाहरु हिल्सा हुँदै गएका छन्। उनीहरुलाई पोखरा हुँदै कोरला नाका पार गराएर कैलाश मानसरोवर उकाल्न सक्ने हो भने त्यसले मुस्ताङको र पोखराको पर्यटन उकास्ने थियो,’ श्रेष्ठले भने, ‘नाका खुलाउन प्रधानमन्त्रीले पहल गर्ने अपेक्षा गरिएको छ।’

यो नाका खुलाएर पर्यटक आउजाउलाई सहज बनाउने हो भने ठुलो आकारमा भारतीय पर्यटकलाई ओहोरदोहोर गराउन पाउँदा पर्यटन मार्फत नै लाभ पाउन सकिने उनले बताए। ‘कोरला नाका पार गरेर एक दिनमा कैलाश मानसरोवर पुग्न सकिन्छ। पोखराबाट कोरला नाकासम्म गाडीमै लगेर तिब्बत हुँदै पाहुनलाई मानसरोवर पुर्‍याउन सकिने भएकोले यो नाका खुलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ,’ उनले भने।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अहिले २५ सय मिटर रहेकोमा यसलाई बढाएर ३ हजार मिटर बनाउनुपर्ने पोखरेलीले बताउँदै आएका छन्। धावनमार्ग बिस्तारमा पनि चिनियाँ सहयोगको अपेक्षा गर्न सकिने गरी प्रधानमन्त्रीले आफ्नो भ्रमणमा समेट्नुपर्ने पोखरेलीको बुझाई छ।  

पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन क्षेत्र अहिले निकै नै कमजोर अवस्थामा रहेकोले चिनियाँ पाहुना भित्र्याउने पहल गर्न पनि प्रधानमन्त्रीको चासो लाग्नुपर्ने उनले बताए। चिनियाँ पर्यटकको ठुलो संख्या भ्रमणमा निस्कने भएकोले ती पाहुनालाई भिषा शुल्क फ्री गरेर भएपनि नेपाल बोलाउन पहल हुनुपर्ने व्यावसायीको भनाई छ।

प्रकाशित: १२ भाद्र २०८० ०९:५९ मंगलबार

चीन भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल पोखराका व्यावसायी