अर्थ

नगरकोटको होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं- स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य नगरकोटमा साना तथा ठूला गरी करिब एक सय होटल सञ्चालनमा छन्। नगरकोट पर्यटकका लागि मात्रै नभएर विभिन्न क्षेत्रको तालिम तथा सेमिनारका लागि समेत 'हब' बन्दै गएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरु सूर्योदय हेर्नका लागि समेत नगरकोट जाने गरेका छन्।  यहाँ करोडौं लगानीमा ठूला व्यवसायीले अन्तर्राष्ट्रियस्तरका होटल सञ्चालनमा ल्याएका छन्। तर, नगरकोटमा सञ्चालन भएका रिसोर्ट तथा होटलले स्थानीयलाई कुनै अवसर र फाइदा दिन नसकेको स्थानीय नवनिर्वाचित जनप्रतिनिधिले बताएका छन्।

राजधानीमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरिएको शिक्षा, स्वास्थ्य, कृषि र विपत् व्यवस्थापन कार्यक्रममा स्थानीय जनप्रतिनिधिले नगरकोटको नामबाट ठूला लगानीकर्ताले मात्रै फाइदा लिएको बताए।

'नगरकोटमा स्वदेशी र विदेशी पर्यटकको चाप सधैं उस्तै हुन्छ। ठूला होटल सञ्चालक तथा लगानीकर्ताले डलरको रुपमा आम्दानी गरिरहेको हुन्छ। स्थानीयले भने कुनै अवसर पाउन सकेका छैनन्।' चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष सन्तबहादुर वाइबाले भने, 'स्थानीय स्रोत–साधन प्रयोग गरेर करोडौं लगानीमा होटल सञ्चालन भएको छ। स्थानीयलाई मासिक १० हजार पारिश्रमिक सहितको रोजगार दिन नसक्नु न्यायोचित भएन।'

स्थानीयलाई होटल सञ्चालकले हाउस किपिङ र कुचिकारको अवसर मात्रै दिएर स्थानीय स्रोत–साधनको चरम प्रयोग गर्दै आएको वडा अध्यक्ष वाइबाको आरोप छ। नगरकोटमा होटल सञ्चालकहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर नगरकोटसम्मको कच्ची सडक निर्माणका लागि सहयोग गर्नुपर्ने स्थानीय बताउँछन्। 

भक्तपुरमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थी धेरै भएका कारण उनीहरुलाई रोजगारी दिनुपर्ने वाइबाको भनाइ छ। कम्तीमा ५० प्रतिशत रोजगारी स्थानीयलाई दिनुपर्ने वडा अध्यक्षको माग थियो।

होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण

नगरकोटमा सञ्चालन भएका होटलले करिब ४० रोपनी जग्गा अतिक्रमण गरेको पाइएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलका अनुसार नगरकोटमा सञ्चालित होटलहरुले उक्त जग्गा अतिक्रमण गरेका हुन्।

वन तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा सबैभन्दा अगाडि क्लब हिमालय होटल छ। हिमालयले १३ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ। यस्तै, द फोर्टले पाँच रोपनी, रूपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेका छन्।

यस्तै, लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारी लगायतका होटलहरूले जग्गा अतिक्रमण गरेको स्थानीय जनप्रतिनिधिले जानकारी दिए।

नगरकोटका अधिकाश होटलले कालीमाटी बजारबाट लगेर फलफूल तरकारी खपत गर्ने गरेका छन्। काभ्रे र भक्तपुर तरकारी उत्पादनमा अगाडि रहे पनि होटलहरुले स्थानीय उत्पादनलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ।

प्रकाशित: २ भाद्र २०७४ ०६:४७ शुक्रबार

नगरकोटको होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण