काठमाडौं- एकपछि अर्को अनियमितता सार्वजनिक भएपछि आयल निगमले पत्रकारलाई निगम परिसर प्रवेशमा कडाइ गरेको छ। निगमको जग्गा खरिदमा भएको घोटाला सार्वजनिक भएपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई निगम प्रवेश गर्न समय सीमा तोकेका हुन्।
निगमका सुरक्षा गार्डले २ बजेअघि जाने पत्रकारलाई निगम प्रवेश गर्न दिँदैनन्। 'दुई बजेभन्दा पहिला भित्र छिर्न नदिन निर्देशन छ,' एक सुरक्षा गार्डले भने।
पत्रकारलाई रोक लगाउन कार्यकारी निर्देशकले सूचना पनि जारी गरेका छन्। निगमको प्रवेशद्वारमा कार्यकारी निर्देशक खड्काले जारी गरेको सूचनामा लेखिएको छ, 'निगमको कामको बोझका कारणले पत्रकारलाई दिनको २ः०० बजेपछि मात्र सम्पर्क गर्न अनुरोध गरिन्छ।'
आयल निगम जस्तो अत्यावश्यक सेवा प्रदायक संस्थाले प्रेसलाई प्रवेशमा समय सीमा तोक्न नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले बताए। 'जतिसक्दो छिटो सूचना दिनुपर्नेमा समयको बार लगाएर निरुत्साही गर्न मिल्दैन,' बिष्टले भने, 'पत्रकारलाई सहज पहुँच दिनुपर्छ।'
पत्रकारलाई रोक लगाएको बारे आफूलाई जानकारी नभएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। 'रोकिएको भए म कुरा गर्छु,' उनले भने।
प्रकाशित: २ भाद्र २०७४ ०५:१८ शुक्रबार