अर्थ

दुई हजार सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र

काठमाडौं- सगरमाथा आरोहण गरेका करिव २ हजार नेपाली आरोहीले प्रमाण–पत्र नपाएको भेटिएको छ  । पर्यटन विभागको तथ्याङंक अनुसार सफल रुपमा सगरमाथा आरोहण गरेका नेपाली आरोहीलाई प्रमाण-पत्र नपाएको हो ।  

सगरमाथा सफल रुपमा आरोहण गरेको आवश्यक कागजत सहित विभागमा दर्ता गरेपनि नेपाली आरोहीले प्रमाण– पत्र पाउन नसकेको नेपाल पर्वतारोहण संघले (एनएमए) जनाएको छ । विदेशीले सगरमाथा आरोहणपछि सजिलै आरोहणको प्रमाण पत्र पाउँछ तर नेपाली आरोहीलाई प्रमाण पत्र दिन नसक्नु सरकारको विभेदकारी नीति भएको एनएमएका नवनिर्वाचित अध्यक्ष सन्तविर लामाले बताए ।

‘विदेशी टोलाीमा सहभागी नेपाली आरोही प्रोफेसनल आरोही हुन् । उनीहरुकै सहयताबाट विदेशीले एभरेष्ट आरोहण गर्ने हो । तर, उही विदेशीले प्रमाण पत्र पाउने तर सोही नेपालीले प्रमाण पत्र नपाउँनु विडम्वना भएको छ ।’ अध्यक्ष लामाले भने,‘सगरमाथा आरोहणको प्रमाणपत्र हल्का रुपमा लिन हुँदैन तर आरोहण गरेका नेपालीहरुले छिटो भन्दा छिटो प्रमाण पत्र पाउँनु पर्छ ।’

विदेशी नागरिकले हिमाल आरोहणपछि सजिलै सफल आरोहणको प्रमाण पत्र पाउने गरेको छ । यसरीनै नेपाली टोलीका सदस्यले पनि प्रमाण–पत्र पाउँनु पर्ने लामाको भनाई छ ।

नेपाल सरकार, पर्यटन विभागले विधिवत आरोहण अनुमति पत्र लिएर सफल रुपमा हिमाल आरोहण गरेका नेपाली आरोहीमाथिको विभेद गर्न मिल्दैन । आवश्यक डकुमेन्ट बुझाउँदा पनि प्रमाण पत्र नपाउँनु आरोहीको लागी दुःर्भाग्य भएको लामाको टिप्पणी छ ।

नेपाली आरोहीले सगरमाथा आरोहणको प्रमाण–पत्र नपाउँदा आरोहीमा हिनताबोध हुने भएकाले सरकारससँग छलफलको प्रक्रिया अघि बढाएको लामाले नागरिकसगँ बताए ।

एनएमएका पुर्व अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा आरोहणको प्रमाण–पत्रलाई सस्तो बनाउन नहुने बताए । प्रमाण– पत्र वितरण व्यवस्थित बनाउने नाममा नेपाली आरोहीलाई झन्झट दिन नहुने शेर्पाको भनाई छ ।

नेपाल पर्यटन विभागका निर्देशक तथा प्रवक्ता दुर्गादत्त ढकालले नेपाली आरोहीलाई प्रमाण–पत्र दिने विषयमा विभागले आवश्यक कागजता सहितको फाईल पर्यटन मन्त्रालयमा ७ महिना अघि पठाएको बताए ।

पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले नेपाली पर्वतारोहीलाई प्रमाण पत्र दिने विषयमा प्राविधिक कारण रोकिएको बताए । ‘पर्यटन ऐन २०३५ को दफा ३७ मा आवश्यक संशोसधनको प्रक्रियामा छ । ढिलो चाँडो यसको विषयमा टुंगो लाग्छ,’ सचिव अधिकारीले भने ।

आरोहण प्रमाण–पत्रको विवाद

२०६९ जेठ ६ गते  १ सय ५० जनाले सगरमाथा सफल आरोहण गर्ने क्रममा भारतीय टोली सिओल नेसनल युनिभर्सिटी एभरेस्ट एक्सपिडिसनका चार जना आरोही सहभागी थिए । तर, टोलीमा श्रीहरि अशोक तापकिरले मात्र आरोहण पूरा गरेको सगरमाथा आरोहण संघले जनाएको छ ।

तीन जना आनन्द अशोक बानसोडे, सागर सञ्जय पाल्कर र बालाजी सिवाजी मानेले पनि आरोहण पूरा गरेको नक्कली डकुमेन्ट पर्यटन मन्त्रालयमा बुझाएर आरोही प्रमाण पत्र माग गरेका थिए । यसलगतै संघले पर्यटन मन्त्रालयलाई प्रमाण पत्र नदिन निवेदन दिएको थियो । यसपछि नेपाली आरोहीलाई समेत प्रमाण–पत्र दिन मन्त्रालयले रोक लगाएको थियो ।

आरोही प्रमाण-पत्र कसरी पाइन्छ

पर्यटन ऐन २०३५ ले पर्वतारोहणका लागि दस्तुर तिरी अनुमति लिने व्यवस्था छ । साथै आरोहण क्षेत्रमा खटिएका विभागका सम्र्पक अधिकृत मार्फत आरोहणबारे सत्यतथ्य बाहिर ल्याउने प्रणाली छ । आरोहण पूरा गरेपछि आरोही दलको टोली नेताले त्यहाँबाट फर्किनुअघि पर्वतारोहणको मार्ग, त्यसक्रममा खिचिएका तस्बिर, वृत्तचित्र मन्त्रालयमा बुझाउनुपर्छ । यी सबैको अध्ययनपछि पर्यटन उद्योग महाशाखाले आरोहीलाई प्रमाणपत्र उपलब्ध गराउँछ ।

विश्वको सर्वोच्च सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको ६४ वर्ष पुगेको छ । न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:०५ बुधबार

दुई सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र