अर्थ

नोट केरमेट गरे तीन महिना कैद

काठमाडौं – प्रयोगकर्ताले जतनसँग बैंक नोट नचलाए तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्ने व्यक्तिलाई फौजदारी अपराधको अभियोगमा तीन महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना हुने व्यवस्था सहितको कानुन निर्माण गरेको छ ।

यसअघि यस्तो कानुनी व्यवस्था थिएन । राष्ट्र बैंकले सफा नोट नीति त ल्याए पनि कार्यान्वयन भएको थिएन ।

तर, अब जतनसँग नोट प्रयोग नगर्ने व्यक्ति अपराधीको सूचीमा पर्ने उसलाई कैद वा जरिवाना गर्न सकिने भएको छ । बुधबार व्यवस्थापिका संसद्ले मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै त्यस्तो व्यवस्था सहितको नयाँ कानुन पारित गरेको छ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी सम्बन्धी नयाँ कानुनको दफा २६३ मा बैंक नोट  वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ । दफा २६३ को उपदफा १ मा  ‘अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न च्यात्न हुँदैन,’ उल्लेख गरिएको छ । उपदफा २ मा कसैले बैंकको नोटमा लेख्न वा कोर्न हुँदैन भनिएको छ ।

‘उपदफा १ र २ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना हुनेछ,’ नयाँ कानुनमा भनिएको छ ।

प्रयोगकर्ताले जतनसँग नोट नचलाउँदा गत आर्थिक वर्ष ०७३/७४ मा १९ करोड ३७ लाख दुई हजार थान नोट झुत्रो भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले सुरक्षित किसिमले नोटको कारोबार गर्न बारम्बार आग्रह गरे पनि त्यसमा कसैले वास्ता गरेको पाइँदैन । 

राष्ट्र बैंकले सफा नोट नीति ल्याएपछि भने केही सुधारको प्रयास भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिहीबार नागरिकलाई बताए ।

विगतको तुलनामा नोट थोत्रिने क्रम पछिल्लो समय केही घटेको राष्ट्र बैंकको अनुभव छ । झुत्रा नोट साट्न आउनेको संख्या तीन वर्षअघिको तुलनामा अहिले घटेको छ । 
आव ०७१÷७२ मा भन्दा आव ०७२÷७३ मा नोट थोत्रिने क्रम घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आव ०७१÷७२ मा २२ करोड ६३ लाख ७७ हजार थान पुराना नोट केन्द्रीय बैंकमा आएका थिए । आव ०७२÷७३ मा २० करोड १२ लाख १९ हजार थान झुत्रा नोट जम्मा भए । 

राष्ट्र बैंकले सर्वसाधारणबाट झुत्रा नोट संकलन गरेर जलाउने गरेको छ । महँगो खर्च गरेर छापिएका नोट जतनले उपयोग नगर्दा यस्तो अवस्था आएको राष्ट्र बैंकको भनाइ छ ।

आव ०७१÷७२ मा ४० अर्ब ५४ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरका नोट झुत्रा भएर जलाइएको थियो । आव ०७२÷७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४४ हजार रुपैयाँ बराबरका पुराना नोट जलाइएको थियो ।

पछिल्लोपटक गत आव ०७३÷७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार रुपैयाँका नोट जलाइएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले ७२ वर्षयता तीन खर्ब ६१ अर्ब ४० करोड ४१ लाख ९४ हजार बराबरका नोट (कागजी रुपैयाँ) जलाएर नष्ट गरेको छ । 

नेपालले २००२ देखि कागजी नोट चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका नोट छापिएका छन् । चलनचल्तीमा रहेका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पु¥याएर नष्ट गर्छ । 

उपभोक्ताले जतन नगर्दा पाँच र १० का नोट छिटो च्यातिने गरेका छन् । ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गर्दा ती नोट च्यातिने गरेका हुन् । 

हजार र पाँच सयका नोटको बढी जतन हुने भएकाले तिनको आयु सानाको भन्दा बढी हुने गरेको राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकले ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने गरेको जानकारी दिएको छ ।

हजार र पाँच सय दरका नोटको तुलनामा पाँच, १०, २०, ५० र सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने राष्ट्र बैंकको भनाइ छ । 

केरमेट र स्टिच लगाएका नोटको आयु ज्यादै कम हुने गरेको छ । यसअघि केन्द्रीय बैंकले बैक, वित्तीय संस्थालाई नोटको बन्डलमा स्टिच नगर्न निर्देशन जारी गरेको थियो । अन्य देशमा नोटमा स्टिच र केरमेट गर्न पाइँदैन । 

सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहोर नगर्न अन्तरिम आदेश समेत दिइसकेको छ । उसले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारका नाममा बैंक नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न भनेको छ ।

राष्ट्र बैंकले पछिल्लो समय कागजी ५, १०, २०, ५०, सय र हजारका नोट छापिरहेको छ । केही वर्ष अघिसम्म एक र दुई रुपैयाँका नोट छाप्ने गरे पनि ती नोटको आयु लामो नभएको भन्दै छाप्न बन्द गरेको छ । अहिले १ र २ रुपैयाँ दरका सिक्का निकाल्ने गरेको छ ।

प्रकाशित: २७ श्रावण २०७४ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App