अर्थ

२७ वर्षमा २८ लाख गाडी

काठमाडौं- बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रुपमा रहेको गाडी आयात पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। सरकारी तथ्यांक अनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७  वर्षमा २८ लाख सवारी साधन आयात भएका छन्।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आव ०४६/४७ देखि ०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ वटा गाडी आयात भएका छन्। मुलुकमा सडक सञ्जाल र स्तरोन्नति राम्रो नभएको अवस्थामा सडकमा गुड्ने गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ। 

आर्थिक वर्ष ०४७/४८ मा १३ हजार एक सय ४९ थान आयात भएको गाडी गत वर्ष बढेर चार लाख ४४ हजार दुई सय ५९ पुगेको छ।

आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको थिए। त्यसको अर्को वर्ष ०४७/४८ मा १३ हजार एक सय ४९ थान आयात भएको देखिन्छ। पछिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा एक वर्षकै अवधिमा चार लाख ४४ हजार दुई सय ५९ वटा गाडी आयात भएको देखिन्छ।

क्षेत्रगत रुपमा हेर्दा मुलुकमा थपिएका झन्डै २८ लाख गाडीमध्ये सबैभन्दा धेरै बागमति अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन्। उक्त कार्यालयमा १० लाख ४२ हजार आठ सय ५६ गाडी दर्ता भएका छन्। सबैभन्दा कम कर्णालीमा पाँच सय ३७ सवारी दर्ता भएको अभिलेख छ। 

मुलुकमा भित्रिएका झन्डै २८ लाख गाडीमध्ये अधिकांश मोटरसाइकल छन्। तथ्यांक अनुसार पनि २७ वर्षदेखि अहिलेसम्म कुल आयात गाडीमध्ये अधिकांश मोटरसाइकल छ।  

आव ०४६/४७ सम्म भित्रिएका ७६ हजार गाडीमा मोटरसाइकलको संख्या ३४ हजार पाँच सय ७६ थियो। अर्को वर्ष ०४७/४८ मा भित्रिएको १३ हजारमध्ये मोटरसाइकलको संख्या पाँच हजार सात रहेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, पछिल्लो वर्षको तथ्यांक हेर्दा आयात भएको कुल गाडीमा मोटरसाइकलकै हिस्सा बढी छ। गत वर्ष मुलुकमा चार लाख ४४ हजार दुई सय ५९ वटा यातायातका साधन भित्रिँदा तीन लाख ५४ हजारभन्दा धेरै मोटरसाइकल आएको छ।  

मुलुकमा हालसम्म भित्रिएका कुल गाडीको संख्यामा मोटरसाइकल २१ लाख ९० हजार छ। मोटरसाइकललाई पछ्याउँदै कार/जिप भ्यान आयात भएको छ। यसको संख्या दुई लाख १३ हजार तीन सय २० पुगेको छ। बिलासी साधनको रुपमा लिइएको कारको संख्या पछि कृषिमा प्रयोग हुने ट्याक्टर, पावर टेलर संख्या उल्लेख्य छ। २७ वर्षको अवधिमा ट्याक्टर, पावर टेलर एक लाख लाख ३० हजार पाँच सय ६६ आयात भएको तथ्यांक छ।

मुलुकमा हालसम्म भित्रिएका गाडीमध्ये ४६ हजार तीन सय ४६ वटा बस छन्। पिक अपको संख्या ४५ हजार ६ सय ३१ छ। विकास निर्माणमा प्रयोग हुने क्रेन/डोजर एस्काभेजर/ट्रक ७८ हजार दुई सय ५७ आयात भएका छन्। त्यसैगरी, उपत्यकामा सबैभन्दा धेरै चल्ने टेप्पो २९ हजार चार सय ६३ र मिनिबस/मिनि ट्रक २३ हजार ६ सय २२ आयात भएको छ।

हरेक वर्ष बढ्दै गएको गाडीको संख्यासँगै त्यसबाट आउने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा विभागले २० अर्ब ३२ करोड २९ लाख रुपैयाँ राजस्व उठाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ उठेको थियो।

स्वदेशमा सवारी साधन भित्रने क्रम बढेकाले राजस्व पनि बढेको विभागका प्रवक्ता तोकराज पाण्डेले बताए। हरेक वर्ष यस्तो राजस्व वृद्धिदर बढ्दै गए पनि गत वर्षमा भने उच्च रहेको पाण्डेको भनाइ छ।

मुलुकमा राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउने व्यवसायका रुपमा यातायात क्षेत्रलाई लिइन्छ। यसको आयातदेखि सम्बन्धित अन्य व्यवसाय गरी राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउने क्षेत्र भएको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष अन्जन श्रेष्ठले बताए। यस क्षेत्रबाट राज्य कोषमा हरेक वर्ष ८० देखि सय अर्ब रुपैयाँसम्म जम्मा हुने नाडाका श्रेष्ठ बताउँछन्।

प्रकाशित: २२ श्रावण २०७४ ०७:१० आइतबार

२७ वर्षमा २८ गाडी