अर्थ

पर्वतमा पाँच सयको नक्कली नोट भेटियो

पर्वत –  पर्वतमा नक्कली नोट फेला परेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको कुश्मा शाखा कार्यालयमा पाँच सयको नक्कली नोट फेला परेको हो । हेर्दा उस्तै भएपनि सक्कली नोटसँग नमिल्ने नेष्डो नेपाल कुश्मा शाखाका ब्यवस्थापक उत्तमप्रसाद अधिकारीले बताए। 

‘देख्दा दुरुस्त छ, तर सक्कली नोटभन्दा केही नरम छ’ उनले भने–‘सक्कली नोट पानीमा भिज्दा मसी जादैन, नक्कली भेटिएको नोटको मसी गयो ।’ लघुबित्त सञ्चालन गरिरहेको संस्थाले सेवाग्राहीले जम्मा गर्न ल्याएको नोटमा उक्त नक्कली नोट परेको हुनेसक्ने आशंका उनले गरे। 

‘कसले ल्याएर छाड्यो थाहा भएन, नोट जम्मा गरेर बैंकमा जम्मा गर्नेक्रममा फिर्ता गरेपछि मात्रै थाहा पायौ’ अधिकारीले भने । पहिले केही संकेत नै नपाएपनि बैंकले पत्ता लागेपछि आफूहरुलाई पनि नक्कली नोट भएको थाहा भएको उनले बताए । उनका अनुसार कुश्मास्थित गण्डकी विकास बैंकमा पैसा गन्ने क्रममा मेसिनबाट नक्कली नोट भएको पत्ता लागेको उनले जानकारी दिए। 

‘अहिलेसम्म नक्कली नोट भेटेका थिएनौं त्यसैले सचेत भएनौ’ उनले भने–‘अव सचेत हुनुपर्ने अवस्था आयो । घ २०–९४६७९६ नम्बरको उक्त नोट फेला परेपछि पर्वत सदरमुकाम कुश्मामा अरुपनि नक्कली नोट हुनसक्ने आशंकामा यहाँका बासिन्दामा त्रास छाएको छ । एक महिनाअघि फलेबास नगरपालिकामा पनि नक्कली नोट फेला परेको थियो । 

गाउँदेखि सदरमुकामसम्म नै यस्ता नोटहरु फेला परेपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक मधुकरजंग बिष्टले फाट्टफुट्ट नक्कली नोटहरु फेला परेका कारण सर्वसाधारण नोटप्रति सचेत हुनुपर्ने बताए । ‘जसले नोट दियो नहेरी राख्ने काम अब रोक्नुपर्छ’ उनले भने–‘सक्कली हो की नक्कली हो पक्का गरेर मात्रै राख्ने गर्नुपर्छ।’ 

उनले नक्कली नोटप्रति सचेत रहन र कोही कसैले नक्कली नोटको कारोबारी गरेको पाएमा तत्काल प्रहरीलाई सूचना दिन पनि आग्रह गरे । उनले नक्कली नोटका गिरोहले नै ल्याएको भए बाक्लो नोटहरु भेटिने भएकाले फाट्टफुट्ट भेटिएका नोट भारत र तराईबाट आउने व्यक्तिले झुक्किएर ल्याएको हुनसक्ने बताए। ‘गिरोह नै सक्रिय भएर नोट ल्याएको भए धेरै नोट भेटिनुपर्ने थियो, त्यसैले तराई र भारतबाट आएका व्यक्तिले झुक्किएर ल्याएको हुनसक्छ’ उनले भने। 

प्रकाशित: १९ श्रावण २०७४ १२:५७ बिहीबार

पर्वतमा सयको नक्कली नोट भेटियो