अर्थ

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँः मन्त्री बस्नेत

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताएका हुन्।

उनले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताए। ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने उनको भनाइ छ। उनले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भिरताका साथ उठाएको बताए।

उनले भने, ‘हामीले भनेका छौँ सबैको लागि ऊर्जा। आगामी दुई वर्षभित्र राष्ट्रव्यापी रुपमा पूर्ण विद्युतिकरण। देशभरी पूर्ण विद्युतिकरणको लक्ष्य निर्धारण गरेका छौँ। पाँच वटा प्रदेशमा यसै आर्थिक वर्षमा, दुईवटा प्रदेशमा आगामी आर्थिक वर्षमा कम्प्लिट गर्नेगरी पूर्ण विद्युतिकरण जसलाई हामीले सबैका लागि स्वच्छ ऊर्जाको सुनिश्चित गर्ने मिसनका साथ काम गरिराखेका छौँ। विकासको लागि ऊर्जा र समृद्धिको लागि ऊर्जा । हामीले यो अभियान, यो मिसन अन्तर्गत पनि काम गरिराखेका छौँ। यो सामान्य पूर्वाधारको कुरा मात्रै छैन। यसले मुलुकको समग्र अर्थतन्त्रलाई, यो एउटा सेवा प्रवाहको क्षेत्रमात्र भएन। उज्यालोको कुरा मात्र भएन। यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र आर्थिक विकासमा प्रत्यक्ष योगदान गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउनको लागि योगदान गर्ने, त्यसको पूर्वाधारको रुपमा काम गर्ने यसको बहुआयामिक अर्थ एवं महत्व जहाँनेर छ यो सबै दृष्टिले हेरेर अब हामी घरायसी प्रयोजनका लागि मात्र विद्युतिकरणको कुरा गरिराखेका छैनौँ। हामी उद्योगधन्दाहरु अर्थात आर्थिक विकासका पूर्वाधारहरुको लागि मात्रै पनि कुरा गरिराखेका छैनौँ। खपत क्षमता वृद्धि गर्दै विद्युत निर्यातको कुरा गरिराखेका छौँ। निर्यात व्यापारको कुरा गरिराखेका छौँ र आर्थिक समृद्धिमा अझ प्रत्यक्ष योगदान पुग्ने विश्वास पनि हामीले लिइराखेका छौँ। त्यसैले सबैको लागि ऊर्जा। कृषिको लागि, पर्यटन व्यवसायको प्रवद्र्धनको लागि, औद्योगिकरणका लागि र समग्र अर्थतन्त्रका लागि हामीले विकासका लागि ऊर्जा, समृद्धिका लागि ऊर्जाको एजेण्डालाई त्यही महत्व र गम्भिरताका साथ उठाएका छौँ।’

प्रकाशित: १ भाद्र २०८० ०८:४९ शुक्रबार

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत