अर्थ

दुर्गमको बैंकमा नगद संकट

जनकबहादुर शाही

हुम्ला- जिल्लामा आर्थिक कारोबार बढिरहेका बेला राष्ट्रिय वाणिज्य बैंक सिमकोटमा नगद सकिँदा सर्वसाधारणले सास्ती पाएका छन्। नगद सकिएसँगै बैंकले पाँच हजारभन्दा माथिका चेक साट्न छाडेको छ।

सोभन्दा बढीका चेक बैंकले फिर्ता गर्ने गरेको सेवाग्राहीले बताए। बैंकमा दुई लाखको चेक लिएर जाँदा पाँच हजारभन्दा बढी दिन नसकिने जवाफ पाएपछि रित्तै हात फिर्ता भएको सिमकोट गाउँपालिका–२, ठेहेका जस परियारले बताए।

कामदारलाई दिने पैसाको लागि चेक साट्न चार दिन पैदल हिँडेर ४८ कोश दुरी  पार गरी सिमकोट आइपुगेका ताँजाकोट गाउँपालिका–५ का धनवीर सार्कीले चेक साट्न लाम लागेको तर आफ्नो पालो आउँदा पैसा सकिएको गुनासो पोखे। उनी पैसा आउने आसमा चार दिनदेखि सिमकोटमै बसिरहेका छन्।

होटेल बस्नु पर्दा खर्च बढिरहेको उनले बताए। 'समयमै पैसा झिक्न पाएको भए घर बनाउने कामदारलाई दिन पाइन्थ्यो,' उनले भने। कामदारको ज्याला दिन नपाउँदा दिक्क लागेको सार्कीले बताए।

सोही गाउँपालिकाबाट द्वन्द्वपीडितको रकम लिन सदरमुकाम आएका मोहनजंग शाही पनि नगद नपाएर दिक्क छन्। 'आज (बुधबार) घर पुगिसक्नुपर्ने थियो, चेक साट्न नपाउँदा यतै छु,' उनले भने। बैंकमा नगद मौज्दात सकिएको र पहिला काम नलाग्ने भनी राखिएको दुई लाख जति झुत्रा नोट र निक्षेपकर्ताले जम्मा गर्न ल्याएको पैसाबाट पाँच हजारभन्दा तलको चेक साटिरहेको शाखा प्रमुख ठानसिंह बिष्टले बताए।

बैंकलाई यतिखेर ४० करोड रुपैयाँ आवश्यक रहेको तर नगद नहुँदा काम गर्न अप्ठेरो परेको शाखा प्रमुख बिष्टको भनाइ छ। बैंकलाई हलियाको सात करोड, द्वन्द्वपीडितको पाँच करोड जिल्ला समन्वय समितिको १० करोडभन्दा बढी र खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय, सिमकोट हिल्सा सडक आयोजना, सिँचाइ सब–डिभिजन कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायत विषयगत कार्यालय चेक भुक्तानी गर्न ४० करोड रुपैयाँ जति आवश्यक पर्ने उनले बताए। 'सो कुुरा राष्ट्र बैंकलाई जानकारी गराएका छौं,' प्रबन्धक विष्टले भने।

सिमकोट शाखामा नगद संकट चुलिएको जानकारीपछि राष्ट्र बैंक नेपालगन्ज जिल्लामा नगद पठाउन राजी भएको तर निजी एयरलाइन्सले पैसा नबोक्दा गाह्रो परेको उनको भनाइ छ। नेपाली सेनाको एमआई हेलिकप्टर चार्टर गर्न बैंकसँग पैसा नभएकाले सेना कै सानो हेलिकप्टरबाट नगद ढुवानी गर्ने विषयमा छलफल भइरहेको प्रबन्धक बिष्टले बताए। नगदको समस्या चाँडै हल हुने उनले दाबी गरे।

हेलिकोप्टर पाए बिहीबारसम्म जिल्लामा पैसा आउने उनको भनाइ छ। हुम्लामा नगदको समस्या भएको जानकारी पाएपछि राष्ट बैंक, केन्द्रीय कार्यालयले चासो लिएर नगद पठाउने व्यवस्था चाँडो गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ।

प्रकाशित: २९ असार २०७४ ०६:०८ बिहीबार