अर्थ

बारीमै कुहियो गोलभेंडा

बजार अभावमा टनेलभित्रै कुहिएको नरेन्द्र सिहंको गोलभेंडा । तस्बिर : जगत खड्का

बझाङ – बजार अभावमा किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ । आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच, झोता, पुगर, सुवेडा लगायत गाउँका किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बजार अभावमा बारीमै कुहिन थालेको हो। 

गाउँमा पानीको निकै अभाव छ । ‘आधा घन्टा टाढाको सेती नदीबाट पिठ्युँमा पानी बोकर वैशाख–जेठको धुपमा सिँचाइ गरियो अहिले पैसा पर्ने बेलामा बजार नपाएर बारीमै कुहिन थालेको छ,’ केदारस्यु गाउँपालिका–९ का कलक ओडले बताए।

गत वर्ष तरकारी खेतीबाट दुई लाख रुपैयाँ कमाइ भएको तर यसपालि बजार अभावमा बारीमा तरकारी कुहिन थालेको उनको भनाइ छ । गाउँमा सबैले तरकारी फलाएका छन् । कसैले किन्दैन । सदरमुकाम चैनपुर लैजान महँगो भाडा लाग्छ ।

‘मनमा ठूलो योजना बनाएको थिएँ । यो वर्ष तरकारी बिक्रीबाट जम्मा भएको पैसाले झोता  बजारमा सानो खुद्रा पसल राख्ने योजना थियो,’ कुच्चाका नरेन्द्र सिहंले भने, ‘सबै भताभुंग भयो । 

पाँच वर्षदेखि तरकारी खेती गरिरहेका उनले यो वर्ष करिब ५० हजारको तरकारी बारीमै सडेको बताए छ। महँगो भाडा तिरेर सदरमुकाम पुर्‍याउँदा उल्टै घाटा हुने भएकोले बारीमै कुहिन दिएको स्थानीयको भनाइ छ । 

गाउँमा व्यावसायिक हिसाबले तरकारी लगाउने चलन थिएन । गरिबी निवारण कोष अन्तर्गत ग्रामीण वातावरण सुधार सिमितिले चार लाख नगद र प्राविधिक सहयोग गरेपछि सबैले तरकारी खेती गर्ने थालेको लागा सामुदायिक समूहका अध्यक्ष रामबहादुर ओलीले बताए ।

उनले भने, ‘अहिले सबैले व्यवसायको रुपमा तरकारी खेती गरेका छन । बजार टाढा छ, गाउँमा किन्न कोही आउँदैन । बजार अभवामा किसान मर्कामा छन् ।’ 

ग्रामीण वातावण सुधार समितिका संयोजक कलक थापा संस्थाले गाउँको तरकारी खरिद गरी सदरमुकाम चैनपुर र तराईका जिल्ला पठाउन संकलन केन्द्रको स्थापना गरेको बताउँछन् । उनले भने, ‘हामी समुदायलाई आत्मर्निभर बनाउन लागेका छौं।’ 

 

प्रकाशित: २८ असार २०७४ ०५:२५ बुधबार