अर्थ

भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली

देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।

भन्सारले गत आर्थिक वर्षमा ७६ अर्ब ८९ करोड ५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ४९.४१ प्रतिशत हो। भन्सार विभागले गत आर्थिक वर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलनको लक्ष्य निर्धारण गरिदिएको थियो। राजश्व संकलनमा मुख्य योगदान रहने माल वस्तुको आयात घट्दा राजश्व संकलन प्रभावित भएको भैरहवा भन्सारका मुख्य भन्सार अधिकृत मनिराम पौडेलले बताए।

संकलित कुल राजश्व मध्ये भन्सार तर्फ २७ अर्ब ५६ करोड ९६ लाख संकलन भएको छ। मूल्य अभिवृद्धि कर तर्फ ३० अर्ब ४९ करोड र अन्तःशुल्कबाट १२ अर्ब ७८ करोड असुली भएको छ। त्यसबाहेक सडक सुधार तथा मर्मत सम्भार शीर्षकमा २ अर्ब ६ करोड, पूर्वाधार शुल्क बापतको १ अर्ब ११ करोड र कृषि सेवा शुल्कमा १ अर्ब ८० करोड राजश्व असुली भएको छ।

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट मोटरसाइकल, जिप, कार भ्यान, डिजेल, मोबाइल तथा अन्य विलासीताका सामानको आयात उल्लेख्य घटेको छ। भन्सार प्रमुख पौडेलका अनुसार भैरहवालाई विभागले राजश्वको लक्ष्य बढी तोकिदिएकाले पनि लक्ष्य भेटाउन नसकेको हो।

‘आर्थिक मन्दी, सरकारले बस्तु आयातमा लिएको कडा नीति आदिका कारण राजश्वमा उल्लेख्य योगदान दिने बस्तुको आयात घटेको छ त्यसको असर राजश्व संकलनमा देखिएको हो’ प्रमुख भन्सार अधिकृत पौडेलले भने।

अघिल्लो वर्षको तुलनामा आयात घटे पनि राजश्व असुलीमा महत्त्वपूर्ण योगदान दिने मुख्य बस्तुहरूमा मोटरसाइकल, जिप, कार भ्यान, पेट्रोल, टाइल, एमएस विलेट, डिजेल, इलेक्ट्रिक कारजिप भ्यान, मार्बलको हिस्सा बढी छ। यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब २९ करोडको एमएस विलेट तथा फलामका अर्ध तयारी उत्पादनहरु आयात भएको छ।

जसबाट २ अर्ब २७ करोड राजश्व उठेको छ। ८ अर्बको स्पोन्जी आइरन आयात भएको छ। ८ अर्ब बढीको एल.पी. ग्यास आयात हुँदा त्यसबाट १ अर्ब ५५ करोड राजश्व उठेको छ। सबैभन्दा धेरै राजश्व मोटरसाइकल आयतबाट उठेको छ। ७ अर्ब ६१ करोडका मोटरसाइकल आयात हुँदा ८ अर्ब २७ करोड राजश्व संकलन भएको छ।

६ अर्ब ४३ करोड मूल्यका मोबाइल फोन आयात भएको छ। ६ अर्ब २४ करोडको पेट्रोल, ६ अर्ब १४ करोडको इलेक्ट्रिक गाडी, साढे ५ अर्बको डिजेल, साढे ५ अर्बका कोइला, साढे ४ अर्ब मूल्यका टाइल आयात भएको छ।

भैरहवा भन्सारबाट आयात हुने यी मुख्य दश बस्तुको आयात अघिल्लो वर्षको तुलनामा यसपालि ५० प्रतिशतले घटेको भन्सारको तथ्याङ्कले देखाउँछ। जसका कारण भैरहवाको राजश्व पनि घटेको छ। त्यस्तै एलसी मार्जिन अनिवार्य गरिएका अन्य कतिपय वस्तुको आयात समेत ह्वात्तै घटेको भन्सारले जनाएको छ।

त्यसका अलावा यो भन्सार नाकाको अर्को मुख्य समस्या होबाह्रमासे तस्करी र न्यून विजकीकरण। खुला सीमाको फाइदा उठाउँदै तस्करले यहाँको मुख्य नाका वेलहिया आसपास तथा सहायक नाकाबाट चिनी, लत्ताकपडा, मोबाइल, मदिरा, टाइल, इलेक्ट्रिक सामान, गाडीका पार्ट पूजा, मल, खाद्यान्न लगायतका बस्तुको तस्करी गर्छन्। ती सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मी सम्म सप्लाइ गर्ने क्रम विगत देखि चलिरहेको छ।

पछिल्लो समय मुख्य नाकाहरुमा सर्वसाधारणबाट एक सयको सामानमा भन्सार उठाइरहँदा तस्करले नाका परिवर्तन गरी सहायक नाकाबाट लाखौंका सामान तस्करी गरिरहेको र ती घटनामा सुरक्षा संयन्त्र, भन्सार कर्मचारी तथा तस्कर बिच मिलेमतोको रहेको सीमा क्षेत्रका स्थानीयको आरोप छ। तस्करी नरोकिँदा त्यसले पनि भन्सारको राजश्वमा प्रभाव पारेको जानकारहरु बताउँछन्।

लक्ष्यको आधा पनि राजश्व असुली गर्न नसकेको भैरहवा भन्सारमा अघिल्लो साता निरीक्षण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले पनि भन्सारका अधिकारी तथा कर्मचारी र सुरक्षा संयन्त्रले सरकारले दिएको सेवा सुविधामा चित्त बुझाएर इमानदारी पूर्वक आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका थिए।

जम्मा दश अर्बको सामान निर्यात

यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ९५ करोड ७६ लाख मूल्य बराबरका बस्तु निर्यात भएको छ।

झण्डै साढे दुई खर्बको सामान आयात भएको भैरहवा भन्सारबाट एक वर्षमा १० अर्ब मूल्यका सामान निर्यात भएको हो। भन्सार अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ३८.८ प्रतिशतले निर्यात बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ७ अर्ब ८९ करोड २३ लाख मूल्यका वस्तु निर्यात भएको थियो। भैरहवा भन्सार प्रमुख पौडेलले सरकारले निर्यात प्रवर्द्धनका कार्यक्रम ल्याएकाले निकासी बढेको बताए।

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य बस्तुमा सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, खयर कत्था, सिमेन्ट क्लिङ्कर पर्छन्। गत वर्ष ३ अर्ब ५ करोड ६९ लाखको सेन्थेटिक यार्न निकासी भएको छ। 

१ अर्ब ३ करोडको खजुरको प्रशोधित तेल, ५४ करोड ३९ लाखको खोटो रोजीन, ४३ करोड २१ लाखको खयर कत्था, ४० करोड ९१ लाखको सिमेन्ट क्लिङ्कर भैरहवा नाकाबाट निर्यात भएको छ।

प्रकाशित: २० श्रावण २०८० १३:४४ शनिबार

भैरहवा भन्सार राजश्व