अर्थ

विदेशी पर्यटक आगमनः झन्डै ४५ प्रतिशत पाहुना सार्क मुलुकका

चिनियाँ पाहुना करिब १० प्रतिशत

पोखरा घुम्न आएका विदेशी पाहुना। तस्बिरः उमेश पुन/नागरिक

२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्। सार्क मूलूक मध्ये पनि सबैभन्दा बढी पाहुना भारतबाट आएका छन्। भारतबाट मात्र जुलाई महिनामा २१ हजार ३ सय ५७ जना पाहुना नेपाल भित्रिएका छन्। त्यसपछि बंगलादेशबाट २६ सय ९४, भुटानका ८ सय ७, श्रीलंका ४ सय ८४ र पाकिस्तानका ३ सय ७२ जना पाहुना जुलाईमा नेपाल भित्रिएका छन्।  

नेपालको पर्यटन क्षेत्रको लागि सबैभन्दा बलियो श्रोतको रुपमा भारत रहेको र त्यहाँबाट आउने पाहुनाको हिस्सा ठुलो रहेको लामिछानेले बताए। गर्मि छल्ने बहानामा पनि यो बेला भारतीय पाहुनाको ठुलो आकार नेपाल भित्रिने व्यावसायीले बताउने गरेका छन्। त्यसबाहेक बंगलादेशबाट पछि पछिल्लो समय पाहुना नेपाल आउने क्रम बढेको छ।

‘भारत त नेपालको पर्यटन बजारको एकनम्बरको श्रोत नै हो। त्यसबाहेक बंगलादेशबाट पनि आगमन बढिरहेको छ। बंगलादेशमा पर्यटन बोर्ड र निजी क्षेत्रले प्रवद्र्धनात्मका कार्यक्रम निरन्तर गरिरहेकोले पनि पाहुनाको आगमन भईरहेको छ,’ लामिछानेले भने।  

लामिछानेका अनुसार एशियाका अन्य मूलूकबाट भित्रिने पाहुनाको संख्यामा पनि सुधार आईरहेको छ। एशियाका अन्य मूलूकबाट भित्रिने विदेशीको संख्या १० हजार १ सय ८३ छ। महिनाभरका पाहुनाको आगमनको आधारमा एशियाली मूलूकका पाहुनाको हिस्सा १७.६ प्रतिशत रहेको उनले बताए।

एशियाली मूलूकमध्ये सबैभन्दा बढी चिनियाँ पाहुना नेपाल भित्रिएका छन्। जुलाई महिनामा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ५ हजार ६ सय ९३ रहेको छ। २०२३ लागेपछि चिनियाँको आगमन भएको यो नै सबैभन्दा बढी संख्या हो। महिनाभर नेपाल भित्रिएका पाहुनामध्ये करिब १० प्रतिशत चिनियाँ रहेका छन्। त्यसपछि दक्षिण कोरियाका १ हजार ३ सय ७५ जना पाहुना नेपाल भित्रिएका छन्।

‘चिनियाँको आगमनमा यो जुलाईमा राम्रो सुधार भयो,’ बोर्डका निर्देशक लामिछानेले भने, ‘चिनियाँ पाहुनाका लागि कुनै निश्चित सिजन भन्ने नै रहेन। कुनैपनि बेला चिनियाँ पाहुनाको समूह नेपाल आउन सक्छ।’ उनका अनुसार चिनियाँ न्यू इयर (जनवरी–फेब्रुअरी) र नेशनल डे (अक्टोवर) को बेला पारेर चिनियाँहरु घुमघाममा निस्कन्छन। 

‘न्यू इयर र नेशनल डे को बेलामा चीनमा केही लामो विदा हुने भएकोले त्यो बेला घुम्न निस्कने चिनियाँको आकार ठुलो हुन्छ,’ लामिछानेले भने, ‘अहिले त्यो समय नपरेपनि आगामि दिनमा त्यही समय पारेर बजारीकरण गर्ने हो भने थप चिनियाँ भित्र्याउन सहज हुन्छ।’ मुख्य समय बाहेक चिनियाँ पाहुना वर्षैभरि घुमघाममा निस्कन थालेको उनले बताए।

लामिछानेका अनुसार जुलाईमा नेपाल भित्रिने विदेशी पाहुनामध्ये चीन दोश्रो स्थानमा छ। सबैभन्दा बढी पाहुना भारतबाट भित्रिएकोमा दोश्रोमा चिनियाँ पाहुनाको आकार रहेको छ। तेश्रो स्थानमा भने अमेरिकाका पाहुना रहेका छन्। जुलाईमा नेपालमा ५ हजार ५ सय ६१ जना अमेरिकी पाहुना भित्रिएका छन्। यसअघिका महिनामा अमेरिकी पाहुनाको आगमन भारतीयपछिको बढी हुने गरेको थियो।  

जुलाई महिनामा मात्र नेपालमा ५७ हजार ७ सय २६ जना पाहुना भित्रिए । नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष (२०१९) को जुलाईमा नेपालमा ५८ हजार ८ सय ११ जना पाहुना आएका थिए। त्यसपछि कोरोना संक्रमणले गर्दा आगमन एकाएक खस्केको थियो। कोरोनाले करिब दुइवर्ष थलिएको पर्यटनलाई उकास्ने गरि अघिल्लो वर्षदेखि बल्ल आगमनमा सुधार हुँदै जाँदा २०१९ को जुलाईको तुलनामा २०२३ जुलाईमा ९८ प्रतिशत सुधार भएको बोर्डका निर्देशक लामिछानेले बताए।  

नेपालमा सात महिनाको अवधिमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ५ लाख ३४ हजार २ सय ७ पुगेको छ। नेपालमा गत जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसैगरि जुन महिनामा ७२ हजार २ सय ५० र जुलाईमा भित्रिएका ५७ हजार ७ सय २६ जना सहित २०२३ को सातमहिना अवधिमा भित्रिएका पाहुनाको संख्या ५ लाख ३४ हजार २ सय ७ पुगेको छ।  

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य यसअघि नै सार्वजनिक गरिसकेको छ। आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पु¥याउने लक्ष्य सार्वजनिक गरेको थियो। सरकारी लक्ष्य पुरा गर्न अबको पाँच महिनामा थप पाँचलाख पर्यटक भिœयाउनु पर्ने उनले बताए । महिनामा करिब एकलाख जति पाहुना भित्र्याउन सकेमा मात्र सरकारी लक्ष्य पुरा हुनेछ।  

प्रकाशित: १७ श्रावण २०८० १०:२२ बुधबार

विदेशी पर्यटक आगमन सार्क मूलूक