अर्थ

सञ्चालकले सेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको ध्यानाकर्षण

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयर पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ।

सिंहदरबारमा अर्थमन्त्री डा. महतलाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो।

चेम्बरद्वारा अर्थन्त्री डा महतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था व्यवसाय अनुकुल छैन।’

कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउने पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। बोर्डको निर्णयले व्यवसायीहरूलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयर पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ। बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ।

आफूसँग भएको सेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउन पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ। चेम्बरको ध्यानकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा.महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए।

प्रकाशित: १५ श्रावण २०८० ०३:२५ सोमबार

धितोपत्र बोर्ड अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल चेम्बर अफ कमर्स