अर्थ

सरकारले माग सम्बोधन नगरेपछि निर्माण व्यवसायी आन्दोलित

सरकारले आफूहरूको माग सम्बोधन नगरको भन्दै कपिलवस्तु सहित देशैभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। सो क्रममा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्ना दिएका छन्। 

निर्माण व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सरोज कुमार अर्यालको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुख्य प्रवेशद्वारमा १ घण्टा धर्ना दिएको हो। देशैभरका निर्माण व्यवसायीको सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेश संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रुपमा म्याद थप गर्नुपर्ने, पुनः आदेश जारी गर्नुपर्ने र अत्यधिक, अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनु पर्ने माग सहित आन्दोलनमा छन्।

आन्दोलित निर्माण व्यवसायीहरूले रुग्ण आयोजनाहरू अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंङ्क ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनु पर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गर्नु पर्ने, स्रोत कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बाकी बक्यौता रकम समयमा खातामा दाखिल गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्यको व्यवस्था खारेज गर्नु पर्ने र सार्वजनिक खरिद ऐन सहितका कानुन संशोधन गर्नु पर्ने माग राखेर आन्दोलन अगाडी बढाएका हुन।

निर्माण व्यवसायी संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष गुन्जन कुमार गुप्ताले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा राज्यले दण्ड जरिवाना लगाउने भए पनि राज्यले समयमै भुक्तानी नदिँदा आफूहरूले कुनै क्षतिपूर्ति नपाएको गुनासो गरे।

माग पुरा नभएकाले प्रशासनमा धर्ना दिइएको र साउन १६ गते उपकरण तथा औजारका साथ सङ्घीय राजधानी काठमाडौंमा सशक्त आन्दोलन गर्ने योजना रहेको संघका जिल्ला अध्यक्ष सरोज अर्यालले बताए।

प्रकाशित: १४ श्रावण २०८० १४:०७ आइतबार