अर्थ

१२ अर्बका विद्युतीय सवारी आयात

गत आर्थिक वर्षमा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन्।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका हुन्। भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए। अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी  चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका हुन्।

सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। ५० किलोवाट क्षमताका ३७ सय ५९ वटा विद्युतीय सवारी साधन (कार/जीप र भ्यान) भित्रिएका छन्। ती सवारी साधन खरिद गर्दा १० अर्ब ७८ करोड ८७ लाख १९ हजार रूपैयाँ खर्च गरिएको थियो। भन्सार विभागका अनुसार ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका २७२ वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ।

ती सवारी साधन आयात गर्दा ९४ करोड ६१ लाख ८४ हजार रूपैयाँ खर्च गरिएको थियो। १०१ देखि २ सय किलोवाट क्षमताका १५ वटा कार/जीप र भ्यान नेपालमा आयात भएका छन्। ती संख्याका सवारी साधन आयात गर्दा ७ करोड ९७ लाख ७६ हजार रूपैयाँ खर्च गरिएको थियो।

त्यसैगरी २०१ किलोवाट क्षमताभन्दा माथिका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ६२ लाख १५ हजार रूपैयाँ खर्च गरिएको छ।

गत आर्थिक वर्षमा ६ हजार ९ सय १४ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारीसाधन आयात गर्दा नेपालबाट ६७ करोड ६१ लाख ९० हजार रूपैयाँ खर्च गरिएको थियो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भने २४९ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएका थिए।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भने २ अर्ब ६६ करोड रूपैयाँको एक सय किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यान गरी ९ सय ९६ वटा भित्रिएका थिए। सो अवधिमा ३ करोड ६७ लाख रूपैयाँ बराबरको १५० किलोवाट क्षमताको १३ वटा विद्युतीय सवारी साधन आयात भएका थिए।

यसैगरी दुई अर्ब ५६ करोड रूपैयाँको १०० देखि २ सय किलोवाट क्षमताका ७९२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। भन्सार विभागका अनुसार अघिल्लो वर्ष २०० देखि ३०० किलोवाट क्षमताका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ४१ लाख रूपैयाँ खर्च भएको थियो।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन्।

त्यस्तै गरी ३ सय किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ५६ लाख रूपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १८ करोड ५५ लाख रूपैयाँ बराबरको एक सय किलोवाट क्षमताको विद्युतीय कार, जीप र भ्यान १२० वटा आयात गरिएको थियो।

त्यसैगरी ७ करोड ६४ लाख रूपैयाँको ५० देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यान २५ वटा आयात भएको थियो।

१६ करोड ६४ लाख रूपैयाँ बराबरको एक सयदेखि १५० किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारी साधन आयात भएको थियो । त्यसैगरी २२ करोड ९३ लाख रूपैयाँ बराबरको १५० देखि २ सय किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारी साधन आयात भएको थियो।

सरकारले आव २०७८/७९ मा ६२ करोड १९ लाख रूपैयाँको ६ हजार ४ सय पाँच वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भित्र्याएको थियो। आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ४९ लाख रूपैयाँको १९ सय ४३ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गरिएको थियो।

प्रकाशित: १४ श्रावण २०८० ०२:२७ आइतबार

१२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात आर्थिक वर्ष २०७८/७९ को आय–व्यय