पर्यटन बोर्डले गत अप्रिल एकदेखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गर्यो। यो व्यवस्था लागु भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्ने बाध्यता लागु भयो। नयाँ व्यवस्था लागु भएसँगै जनशक्ति अभाव हुन थालेपछि अहिले पदयात्राका लागि चाहिने गाइड उत्पादन गर्न थालिएको छ।
त्यसका लागि पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मिलेर तीनसय जना युवायुवतीलाई पदयात्रा गाइड तालिम दिइएको छ। पाँचवर्ष पछि भएको यो तालिममा तीनसय जना युवायुवती पदयात्राका गाइड बनेका छन्। उनीहरुलाई पाँचसाताको तालिम दिइएको छ।
टान गण्डकी अध्यक्ष धर्मराज पन्थीका अनुसार नाथमले तयार पारेको पाठ्यक्रममा आधारित भएर विषय विज्ञले प्रशिक्षार्थीलाई तालिम दिएका थिए। पर्यटन, वातावरण, संचार, नेतृत्व, संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज, फ्लोरा, इतिहास, संस्कृति, भूगोल, रक क्लाइम्बिङ, प्राथमिक उपचार लगायतका क्षेत्रबारे प्रशिक्षण दिलाइएको थियो। ‘पाँचवर्षपछि तीनसय जना युवायुवती नयाँ ट्रेकिङ गाइड बनेका छन, उनीहरु अब पाहुनालाई डो¥याएर कुनैपनि क्षेत्रको पदयात्रामा जान सक्षम बनेका छन,’ अध्यक्ष पन्थीले भने।
उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण काम गरिरहेका पदयात्रा गाइडमध्ये केही विस्थापित भए। कोरोना संक्रमण कमजोर भएपछि पनि उनीहरु पदयात्रा क्षेत्रमा फर्केनन। त्यसबाहेक पदयात्रामा जाँदा गाइड अनिवार्य भएपछि अहिले गाइडको माग बढ्न थालेको छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा कोभिड–१९ संक्रमण सुरु हुन भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ जना पर्यटक ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ आएको तथ्यांक छ।
टान अध्यक्ष पन्थीका अनुसार जति संख्यामा एफआईटी भित्रिन्छन, त्यत्तिनै संख्यामा रोजगारी सिर्जना हुन्छ। कोभिड संक्रमण अघिकै आकारमा पर्यटक भित्रिने हो र मिलिजुली तरिकाले पदयात्रामा जाँँदा पनि कम्तिमा वर्षमा २२–२३ हजार नयाँ रोजगारी सिर्जना हुने उनले बताए। ‘कोरोनाले बिस्थापित भएका र पदयात्रामा अनिवार्य रुपमा गाइड चाहिने प्रावधानले बजारमा जनशक्ति अभाव भयो। त्यही अभाव पूर्ति गर्न टानले योपटक तालिम दिएको हो,’ उनले भने, ‘पदयात्राका क्रममा आइपर्ने जस्तोसुकै समस्यालाई पनि समाधान गर्नेगरि जनशक्ति तयार भएको छ। अब उनीहरुको साथ लगाएर पर्यटक पठाउन सकिने भएको छ।’
उनका अनुसार ५० जनाका दरले ६ वटा समूह बनाएर तीनसयजनालाई तालिम दिइएको हो। यसमा केही महिला सहभागि पनि थिए। नेपालका विभिन्न जिल्लाका ती प्रशिक्षार्थीहरुलाई अन्तर्वार्ता मार्फत तालिमका लागि छानिएको थियो। ‘पाँचवर्ष पछि बल्ल यो तामिल भयो। टान गण्डकीले तीनदशक अवधिमा झन्डै दुइहजार पदयात्रा गाइड उत्पादन गरेको छ,’ उनले भने, ‘बजारको माग अनुसार जनशक्ति तयार पार्ने हो। पछिल्लो समय पदयात्रा क्षेत्रमा गाइडको माग निकै नै बढेको छ।’ गत अप्रिल एकदेखिको प्रावधानले पनि बजारमा गाइड अपुग भएको उनले बताए।
‘कोभिडका कारण विस्थापित भएका कतिपय गाइड पुन यो क्षेत्रमा फर्केनन। किनकी नेपालमा पदयात्रामा जाने विदेशी पाहुना उत्तिसारो अझै भित्रिन सकेका छैनन। पर्यटन क्षेत्र अभैm कोभिड अघिको अवस्थामा फर्किन नसकेकोले पनि कतिपय गाइड अन्यत्र गए,’ उनले भने, ‘कोरोना संक्रमणका कारण पदयात्रा क्षेत्र लामो समयसम्म सुनसान बन्दा गाइडहरु बेरोजगार बन्न पुगे। कोरोनाले बिस्थापित भएको पदयात्राको त्यो अनुभवि जनशक्ति सधैंका लागि बिस्थापित भयो।’
कमाई राम्रो हुने भएकोले पदयात्रा क्षेत्रमा अहिले गाइड बन्न चाहने युवायुवती पर्याप्त रहेको उनले बताए। झन्डै ४ सयजनाले आवेदन दिएकोमा अन्तर्वार्ता मार्फत छानेर ३ सयजनालाई सहभागि गराएको अध्यक्ष पन्थीले बताए। ‘पदयात्राका गाइडले दिनमा कम्तिमा पनि २५ सय रुपैयाँ कमाउन सक्छन्। पदयात्रा क्षेत्रमा राम्रो कमाई छ। त्यसैले पनि युवायुवतीको आकर्षण बढी छ,’ उनले भने, ‘समय र दूरी अनुसारको पदयात्रामा जाने भएकोले बेरोजगार बस्नुपर्देन।’
उनका अनुसार अहिले पनि गण्डकी प्रदेशभित्र मात्र पदयात्रा क्षेत्रमा करिब १५ सय गाइड छन्। उनीहरुले पर्यटकलाई पदयात्रा क्षेत्रमा विदेशी डो¥याउँदै आएका छन। प्रदेशमा मात्र अहिले पदयात्रा क्षेत्रका १७५ कम्पनि छन। पदयात्रा व्यावसायीका अनुसार नेपाल भित्रिएका मध्ये करिब ६० प्रतिशत पर्यटक विभिन्न रुटको पदयात्रामा जाने गर्छन।
प्रकाशित: १० श्रावण २०८० १०:३६ बुधबार