अर्थ

मौद्रिक नीतिको प्रभाव: नेप्से परिसूचक ६३.२४ अङ्कले वृद्धि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सार्वजनिक गरेसँगै नेप्से उच्च अङ्कले वृद्धि भएको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको छ। 

उक्त घोषणा भएसँगै नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.५१ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैङ्किङ उपसमूहको परिसूचक ४.९८ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।  

आइतबार नेप्से उच्च अङ्कले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबारको कारोबार शिवम् सिमेन्ट कम्पनीको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ७ श्रावण २०८० १०:५४ आइतबार

मौद्रिक नीतिको प्रभाव: नेप्से परिसूचक ६३.२४ अङ्कले वृद्धि