अर्थ

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या बढेको छ। आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या बढेको हो।

गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७  पशुपक्षी फार्म थप भएका छन्। वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म बढाएका हुन्।

जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिक रूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन्। आव २०७८/०७९ मा यो संख्या सात सय १० मात्रै थियो। ‘किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा.ऋषिराम सापकोटाले भने, ‘फार्मको संख्या बढ्नु खुसीको कुरा हो, फार्म बढ्दा हामी मासु र दूधमा आत्मनिर्भर छौं।’

उनका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन्। एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको संख्या एक सय १९ पुगेको उनले बताए। व्यावसायिक रूपमा बाख्रा पाल्ने किसानको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। गत आवमा मात्रै १०  व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन्। बागलुङमा बाख्रा फार्मको संख्या एक सय ९७ पुगेको छ। गाई फार्म ७२, भैंसी फार्म ८५, भेडा फार्म २९ र बंगुर फार्म एक सय दुईबाट बढेर एक सय सात पुगेका छन्।

त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन्। पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको संख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन्।

जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्यांक केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र  प्रमुख सापकोटाले बताए। ‘जिल्लाभर बाख्रा पाल्ने किसानको संख्या सबैभन्दा धेरै छ, गाईभैंसी, कुखुरा र बंगुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ’, उनले भने,‘ विविध कारणले फार्मको संख्या बढेको भए पनि पशुको संख्या भने घट्दो छ।’

बंगुर, गाई, कुखुरा लगायतमा संक्रामक रोगको प्रभाव लगायतका कारण संख्या घटेको उनले बताए।

पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ। दुई लाख ४९ हजार दुई सय ११ जना संख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव पाँच लिटर दूध उपलब्ध हुन्छ। अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डा मात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ।

प्रकाशित: ७ श्रावण २०८० ०४:५९ आइतबार

परम्परागत शैली व्यावसायिक रूपमा पशु तथा पक्षीजन्य उत्पादन