अर्थ

नेपाल विश्वको तेस्रो तीव्र गतिको अर्थतन्त्र

काठमाडौं- विश्वमै तीव्र गतिको अर्थतन्त्र भएका १० मुलुकको सूचीमा नेपाल तेस्रो नम्बरमा परेको छ। विश्व बैंकको पछिल्लो तथ्यांकलाई आधार मानेर स्विजरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय स्तरको आर्थिक संस्था 'वर्ल्ड इकोनोमिक फोरम'ले तयार पारेको सूचीमा नेपाल तेस्रो स्थानमा परेको हो।

इकोनोमिक फोरमका अनुसार यो वर्ष (सन् २०१७) मा नेपालले साढे ७ प्रतिशतको आर्थिक वृद्धि दर प्रक्षेपण गरेको छ। अनुकूल मौसम, विनाशकारी भूकम्पपपछिको पुनर्निर्माणको गति र छिमेकी भारतसँगको व्यापार सामान्य हुँदा नेपाली अर्थतन्त्रको आकार दुई दशककै सबैभन्दा उच्च दरले बढेको हो।

फोरमको सूचीमा पहिलो स्थानमा अफ्रिकी मुलुक इथियोपिया छ। यसले आर्थिक वृद्धि दर ८.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। तर, विश्व अर्थतन्त्रको वृद्धि दर भने २.७ प्रतिशत हाराहारी पुग्ने अनुमान गरिएको छ। पूर्वाधार निर्माणमा सरकारले वृहत लगानी गरेपछि इथियोपियाको अर्थतन्त्र अकासिएको फोरमले जनाएको छ।

त्यसैगरी दोस्रो स्थानमा उज्वेकिस्तान आएको छ। तेलको भाउ बढिरहेपछि यसले ७.६ प्रतिशतको आर्थिक वृद्धि दर प्रक्षेपण गरेको छ। चौथो स्थानमा भने भारत परेको छ जसको आर्थिक वृद्धि दर ७.२ प्रतिशत प्रक्षेपण गरिएको छ। निर्यातसँगै सरकारी खर्चमा उच्च दरले बढेपछि भारतीय अर्थतन्त्र तीव्र गतिमा अगाडि बढेको हो।

इकोनोमिक फोरम सूचीको पाँचौं र छैठौं स्थानमा ७/७ प्रतिशतको आर्थिक वृद्धि दर लिएर जिबोटी र लाओस परेका छन् भने ६.९ प्रतिशतको वृद्धि दर प्रक्षेपण गरी कम्बोडिया, फिलिपिन्स र म्यानमार क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन्। त्यसैगरी साढे ६ प्रतिशतको आर्थिक वृद्धि दर प्रक्षेपण गरेको चीन सूचीको दसौं स्थानमा परेको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:४७ मंगलबार

नेपाल विश्वको तेस्रो तीव्र गतिको अर्थतन्त्र