अर्थ

राजनीतिक अन्योलले सेयर बजार ओर्लियो

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव बिथोल्न आमहडताल घोषणा गरेसँगै सेयर बजार ओरालो लागेको छ। राजनीतिक अन्योल बढ्ने सम्भावना देखेपछि लगानीकर्ता सेयर किन्नभन्दा बेच्नतिर लागे जसले गर्दा आइतबार बजार ओरालो लाग्यो।

साताको पहिलो दिन नेप्से सूचक २४.७० बिन्दुले घटेर १५९०.४९ मा आइपुगेको छ। राजपाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको मिति सार्नुपर्ने माग र सरकारले कुनै हालतमा नसार्ने अड्डी लिएपछि राजनीतिक अस्थिरता बढ्ने सम्भावना देखेर सेयर बजार मापक नेप्सेमा उच्च गिरावट आएको हो।

राजनीतिक अन्योलले सेयर बजार ओरालो लागेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बताए। 'राजनीति नकारात्मक बन्दै गएका कारण सेयर बजार ओरालो लागेको हो,' उनले भने, 'मधेसवादी दलले निर्वाचनको विरोध गर्दै सहभागी नहुने घोषणा गर्दा सेयर बजारमा प्रभाव पर्‍यो।'

आइतबार एक सय ४६ कम्पनीको ७१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। तुलनात्मक रुपमा यो कारोबार रकम पनि थोरै हो। बैंकमा लगानीयोग्य पुँजी अभाव, कर्जाको चर्को ब्याजदरले गर्दा सेयर खरिद गर्नेभन्दा बिक्री गर्ने बढेका हुन्।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनपछि लगानीयोग्य पुँजी (तरलता) को अभाव नहुने अनुमान लगानीकर्ताले गरेका थिए। तर, तरलताको अवस्था सहज हुने छाँट नदेखिएकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्न नसकेको पौडेलले बताए ।

सरकारले मधेसवादी दललाई विश्वासमा लिएर असार १४ गते दोस्रो चरणको निर्वाचन गराउन सके पुनः सेयर बजार उकालो लाग्ने नत्र अझै घट्ने विश्लेषकहरुको अनुमान छ। लगानीकर्ता तोकिएको समयमै निर्वाचन हुनेमा विश्वस्त नभएका कारण बजारले सकारात्मक रुप लिन नसकेको ब्रोकरको भनाइ छ।

'दोस्रो चरणको निर्वाचन तोकिएको समयमा हुने सम्भावना नदेखिएका कारण पनि सेयर बजारलाई सकारात्मक प्रभाव पार्न नसकेको हो,' पौडेलले भने, 'पहिलो निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको थियो, त्यो हुने सम्भावना पनि नदेखिएकाले लगानीकर्ताको मनोबल सकारात्मक नभएको हो।'

लगानीयोग्य पुँजी अभाव कायमै रहेको, बैंकको ब्याजदर घट्ने छाँट नभएको, सेयर बजार ओरालो लागेसँगै मार्जिन कल माग्ने क्रम बढेकाले पनि सेयर बजार अस्थिर बन्न पुगेको छ।

आइतबार ११ लाख २३ हजार ५३२ कित्ता सेयर किनबेच भएका छन्। होटल र उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक १३८.३३ बिन्दुले झर्‍यो। जलविद्युत् समूहको सूचक पनि ४५.९३ बिन्दुले ओर्लिएको छ। वाणिज्य बैंक समूहको सूचकमा पनि २५.४३ बिन्दुले गिरावट आएको छ। आइतबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको सात करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:२९ सोमबार

राजनीतिक अन्योलले सेयर बजार ओर्लियो