अर्थ

लम्पी स्किनः बीमा पनि छैन, राहत कतैबाट पाइँदैन

किसान भन्छन्: सबैतिरबाट मारमा छौ

गोरखाको गण्डकी गाउँपालिका–२ का किसान गोकर्णप्रसाद पन्तले केही वर्ष अघिसम्म गोरु र बाख्राको बीमा गर्दै आएका थिए। तर, बीमा गरेको पशुको मृत्यु भएपनि बीमा कम्पनीबाट पन्तले उचित क्षतिपूर्ति पाएनन्। 

त्यसपछि उनले पशुबीमा गर्न छाडिदिए। अहिले लम्पी स्किन रोग लागेर पन्तको एउटा खाइलाग्दो गोरु मर्‍यो। ५० हजार रुपैयाँ मूल्य दिँदा पनि नबेचेको गोरु मरेपछि उनले ४५ हजार रुपैयाँ खर्चेर अर्को गोरु किनेर रोपाइँ गरिरहेका छन्।  

बीमा गर्दा पनि उचित क्षतिपूर्ति नपाएपछि पशुबीमा गर्न नचाहेका पन्तले यो वर्ष मात्र करिब एक लाख रुपैयाँ नोक्सानी खेपे। पन्त भन्छन्, ‘बीमा गरेको पशु मर्दा पनि क्षतिपूर्ति पाइएन । त्यसैले यो पटक गोरुको बीमा  गरेको थिइन। तर, यही वर्ष गोरु मर्‍यो।’ मरेको गोरुको मूल्य र नयाँ किन्दा तिर्नुपरेको रकमको जोहो गर्दा एक लाख रुपैयाँजतिको नोक्सानी खेपेको उनले बताए।’ बीमा गरे पनि पशुलाई क्षति पुग्दा उचित क्षतिपूर्ति नपाएपछि बीमा गर्न छाडेको उनले बताए।  

‘बीमा गर्ने बेलामा कम्पनी आउँछन्, तर, पशु मर्दा वा बिरामी पर्‍यो भनेर बीमा दाबी गर्न जाँदा बेवास्ता गर्छन। बीमा रकम दाबी गर्न जाँदा अर्को पशु किन्ने पैसा खर्च हुने अवस्था आएपछि बीमा गर्न छाडेको हुँ,’ उनले भने, ‘बीमा कम्पनीले धोका दिएकोले अहिले किसानले पशुबीमा गर्न छाडेका छन्।’ 

केही वर्ष अघिसम्म पशुबीमा गरेका किसान अहिले बीमा गर्न नमानेको उनले बताए। बीमा बापतको दाबी भुक्तानी साह्रै नै झन्झटपूर्ण भएकोले पनि किसानले बीमा गर्न नचाहेको उनले बताए। ‘म आफैले पनि यसअघि बीमा गरेको पशको कम्पनीबाट भुक्तानी पाइन, त्यसैले बीमा गर्न छाडे,’ उनले भने, ‘बीमा गर्ने बेला कम्पनीले अनेक प्रलोभन देखाउने, तर, बीमा दाबी गर्ने बेला बेवास्ता गरेपछि पशुबीमा नै गर्न छाडेका हौ।’  

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई, गोरु, भैंसीको ज्यान गईरहेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी डा. राजेश चौधरीका अनुसार लम्पी स्किनको क्षतिमा पशुबीमाले काम नगर्ने भएकोले किसानलाई बढी क्षति पुगेको छ। चौधरीका अनुसार लम्पी स्किन रोग महामारी भएकोले पनि बीमाले दाबी भुक्तानी नगर्ने उनले बताए। लम्पी स्किन भन्ने रोग पहिचान नहुँदासम्म सुरुवातताका किसानले पशु बीमा बापत दाबी भुक्तानी पाए पनि अहिले भने महामारी भएकोले अब दाबी भुक्तानी पाउन छाडेको उनले बताए।  

उनका अनुसार बीमाबाट क्षतिपूर्ति नपाए पनि सरकारको व्यवसाय पुनर्स्थापना कोषले पशुको मृत्युमा क्षतिपूर्ति दिने गरेको भएपनि त्यो क्षतिको आकार ठुलो हुनुपर्छ। उनका अनुसार एक सातामा ३० प्रतिशत पशु मरेको खण्डमा मात्र यो कोष अन्तर्गत किसानले सरकारबाट क्षतिपूर्ति पाउँछन्। छोटो समयमा धेरै क्षति हुनका लागि पशुपालनको आकार पनि बढी हुनुपर्ने उनले बताए। कुखुरा, बंगुर, हास, बाख्राको मृत्यु छोटो समयमा धेरै हुने भएकोले सरकारको यो कोषले त्यो बेला मात्र बढी राहत दिलाउने उनले बताए।  

‘बर्डफ्लु जस्ता रोगले छोटो समयमा धेरै हाँस कुखुरा मर्छन्। त्यो बेला मात्र यस्तो कोषको रकम पाउने गर्छन्,’ उनले भने, ‘तर, अहिले त गोठ गोठमा पशु मरेका छन्। एउटा किसानको एउटा गोरु वा गाई वा भैंसी मरेको हुन्छ। यस्तो अवस्थामा त्यो कोषको रकम पाउन सक्दैनन्। त्यसैले बीमा वा राहत केही पनि छैन।’ 

लम्पी स्किनको यो महामारीको राहत भनेको नै सरकारले दिने खोप र औषधि उपचार रहेको उनले बताए। ‘व्यक्तिगत रुपमा किसानले ठुलो क्षति बेहोरेका छन्, महामारी भएकोले बीमाले पनि काम गर्दैन,’ उनले भने।  

सरकारले यो बेला बिरामी पशुको उपचार र स्वस्थ पशुलाई खोप दिइरहेको उनले बताए। लम्पी विरुद्धको खोप र औषधिका लागि मात्र अहिलेसम्म गण्डकी प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको चौधरीले जानकारी दिए । त्यो रकमध्ये एक करोड रुपैयाँ खोपका लागि मात्र हो।  

चौधरीले पनि यो पटक किसानले पशु मृत्युमा ठुलो क्षति बेहोरेको बताए। उनका अनुसार धेरै जना किसानले पशुको बीमा गरेका छैनन्। व्यावसायिक रुपमा पशुपालन गर्नेले बाहेक अरू किसानले खासै बीमा नगरेको उनले बताए। 

एकहल गोरु, एउटा भैंसी पाल्नेले खासै बीमा नगरेको उनले बताए। ‘अहिले व्यावसायिक मात्र नभई व्यक्तिगत रुपमा किसानले पालेका पशु मरेका छन्। किसानलाई ठुलो नोक्सान छ। तर, उनीहरुले बीमा नगरेकोले थप क्षति भोग्नुपरेको छ,’ उनले भने। गाउँमा सिजनको खनजोतका लागि भनेर गोरु पाल्ने चलन रहेकोले पनि सबैले पशु बीमा नगरेको उनले बताए।  

उनका अनुसार किसानले पशुबीमा गर्दा तिर्नुपर्ने प्रिमियम रकमको ८० प्रतिशत रकम सरकारले तिरिदिन्छ। किसानले २० प्रतिशत प्रिमिया रकम मात्र तिरे पुग्छ। त्यो रकम निकै नै सानो आकारको हुन्छ। तर, त्यही रकम तिर्न पनि किसान तयार नहुने उनले बताए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पशुबीमा बापत गण्डकी प्रदेशका लागि संघीय सरकारले साढे ७ र गण्डकी प्रदेश सरकारले साढे ३ करोड गरी ११ करोड रुपैयाँ रकम तिरिदिएको थियो। यो रकम आर्थिक वर्ष २०७९/८० मा पनि त्यत्तिकै हाराहारीमा खर्च भएको अनुमान छ।

‘किसानको पहुँचमा बीमा छ। तर, किसानले सकेसम्म बीमा गर्न नपरोस् भन्ने गरेका छन्, त्यसले गर्दा बढी क्षति पुगेको छ,’ उनले भने। 

सरकारले पशु बीमा गर्ने कम्पनीलाई जिल्ला नै छुट्याएर कार्यक्षेत्र विभाजन गरे पनि किसानले पशुबीमा नगर्दा क्षति भोग्ने गरेको उनले बताए। लम्पी स्किन रोगबाट अहिलेसम्म गण्डकी प्रदेशमा मात्र अहिलेसम्म करिब ५० हजार पशु लम्पी स्किन रोगले संक्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुने पशुको संख्या करिब दुई हजार रहेको छ। संक्रमित र मृत्यु हुने मध्ये पनि गाई र गोरुको संख्या बढी रहेको चौधरीले बताए।

प्रकाशित: २ श्रावण २०८० ०९:१८ मंगलबार

‘लम्पी स्किन’ पशुबीमा राहत