काठमाडौं- सरकारले दशकौंदेखि निर्यात बढाउने भन्दै विभिन्न नीति सार्वजनिक गरे पनि चालु आवमा मुलुकको दैनिक व्यापार घाटा साढे दुई अर्ब पुगेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा आयात आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ। निर्यात भने ६१ अर्ब दुई करोडमा सीमित छ।
आयात र निर्यातको तुलना गर्दा समग्र व्यापार घाटा सात खर्ब ४७ अर्ब ६५ करोड देखिन्छ। यसलाई दैनिक रुपमा गणना गर्दा दैनिक व्यापार घाटा दुई अर्ब ४९ करोड हुन आउँछ।
नेपाली युवाले खाडी लगायत मुलुकमा काम गरेर दैनिक एक अर्ब ८८ करोड ९९ लाख रुपैयाँ भिœयाएकाले सरकारले आयात उच्च भए पनि त्यस क्रममा बाहिरिने विदेशी मुद्राको शोधभर्ना गर्न सकेको हो। रेमिटेन्समा कमी आउने र निर्यात नबढ्ने हो भने सोधभर्ना दिन नसकेर सरकार आर्थिक संकटमा पर्न सक्ने जोखिम छ।
चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु आयात गत वर्षको भन्दा धेरै भइसकेको छ। गत वर्षको तुलनामा यस अवधिमा कुल वस्तु आयात ३४.९ प्रतिशतले बढेर आठ खर्ब आठ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.६ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा भारतबाट भएको आयात ४३.७ प्रतिशत, चीनबाट १२.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.९ प्रतिशतले बढेको छ।
यता, गत वर्षको पहिलो १० महिनाको तुलनामा निर्यात ९.८ प्रतिशतले बढेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही राम्रो हो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात २१.७ प्रतिशतले ह्रास आएको थियो। गत वर्षभन्दा यस वर्ष भारत तर्फ १५ प्रतिशत, चीनतर्फ ५.६ प्रतिशत र अन्य मुलुकतर्फ ३.१ प्रतिशतले निर्यात बढेको छ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा ३७.५ प्रतिशतले बढेर सात खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो २.४ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ। गत वर्ष भारतीय नाकाबन्दीका कारण वस्तु आयात घटेको थियो। चालु आवको १० महिनामा निर्यात–आयात अनुपात ७.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.३ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको १० महिनामा भन्सार तथ्यांकमा आधारित निर्यात एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा ५.८ प्रतिशत र आयात मूल्य सूचकांकमा ४.१ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा १.६ प्रतिशतले सुधार भएको छ। कार्पेट, अलैंची, पस्मिना, अमि्रसो, अदुवाको निर्यात मूल्य बढ्दा निर्यात मूल्य सूचकांक पनि बढेको र पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, तामाको तार, लुब्रिकेन्ट्स लगायत वस्तुको मूल्य बढेकाले आयात मूल्य सूचकांक बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
चालु आवको १० महिनामा रेमिटेन्स ५.२ प्रतिशतले बढेको छ। उक्त वृद्धिसँगै १० महिनामा विभिन्न मुलुकबाट पाँच खर्ब ६६ अर्ब ९७ करोड रेमिटेन्स भित्रिएको छ। तर, मुलुकमा भित्रने रेमिटेन्स वृद्धिदर भने झन्डै आधाले घटेको छ।
अघिल्लो वर्षको यस अवधिमा रेमिट्यान्स वृद्धिदर १०.२ प्रतिशत रहेकोमा यस वर्ष ५.२ प्रतिशतमा झरेको हो। रेमिटेन्स वृद्धिदरमा आएको कमीका कारण मुलुकको शोधनान्तर स्थिति सात अर्ब ५७ करोडले घाटामा छ। अघिल्लो वर्षको पहिलो १० महिनामा एक सय ३४ अर्ब ३० करोड बचतमा रहेको शोधनान्तर स्थिति यस अवधिमा उच्च दरले बढेको वस्तु आयात र रेमिटेन्समा न्यून वृद्धिका कारण सात अर्ब ५७ करोडले घाटामा गएको छ। त्यसैगरी, अघिल्लो वर्षको १० महिनासम्ममा एक सय ६६ अर्ब ८३ करोडले बचतमा रहेको समग्र शोधनान्तर यस वर्ष १० महिनामा ५३ अर्ब ८४ करोडले बचत रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०७४ ०४:१६ शुक्रबार