अर्थ

रासायनिक मल कारखाना अध्ययनका लागि सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआईएजी इण्डस्ट्रिजका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन्।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७७ को व्यवस्था अनुसार डिआईएजी इण्डस्ट्रिजको प्रस्तावका आधारमा लगानी बोर्डको बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निणय गरेको थियो।

सो अनुरूप प्रस्तावक डिआईएजी इण्डस्ट्रिजले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र डिटेल फिजिबिलिटी स्टडी रिपोर्ट लगानी बोर्डमा पेश गर्नुपर्नेछ।

सम्झौताअनुरूप डिआईएजी इण्डस्ट्रिजले प्राकृतिक ग्यास वा हाइब्रिड प्रविधमध्ये एक प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ। जसको लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान छ। साथै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ।

प्रकाशित: २९ असार २०८० ०४:३८ शुक्रबार

नेपालमा रासायनिक मल कारखाना स्थापना विस्तृत सम्भाव्यता अध्ययन