अर्थ

सामाजिक सुरक्षा भत्ता घरदैलोमै

म्याग्दी- स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना क्षेत्रका मतदातालाई खुसी पार्न विभिन्न योजना सार्वजनिक गर्ने लहर चलेको छ। यही क्रममा म्याग्दीमा पनि वृद्धवृद्धालाई घरमै गएर भत्ता दिनेदेखि सडक, पर्यटन, रोजगार, स्वास्थ्य लगायत क्षेत्रसँग सम्बन्धित विभिन्न योजना सार्वजनिक गरिएको छ।

गाउँ कार्यपालिकाको पहिलो बैठकबाट मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका मगरले सामाजिक सुरक्षा भत्ता लिन बैंक तथा वित्तीय संस्थासम्म आउने वृद्धवृद्धालाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेका छन्। यसले वृद्धवृद्धालाई सहज हुने विश्वास गरिएको छ।

गाउँपालिका अन्तर्गत पर्ने दरवाङ, निस्कोट, रुम, ओरखबोट, देविस्थान र बिमबाट भत्ता लिन दरवाङ बजारमा रहेका बैंक धाउनुपर्ने बाध्यताअन्त्य गर्ने गरी कामको थालेको प्रमुख रोकाले बताए।'दुर्गमबस्तीबाट भत्ता लिन आउँदा नै दुई हजार रुपैयाँ हाराहारी खर्च हुन्छ,' उनले भने,'मैले सस्तो लोकप्रियताका लागि नभईवृद्धवृद्धालाई सहज होस् भनेर घरदैलोमै पुगेर भत्ता उपलब्ध गराउने काम सुरू गरेको हो।'

म्याग्दी जिल्लाका पाँचवटा गाउँपालिकामा सबैभन्दा कान्छो अर्थात २९ वर्षीय रोका ८० वर्षकावृद्धवृद्धा दिनभर लाइन बसेको देख्दा नरमाइलो लागेको बताउँछन्। 'भत्ता लिनकै लागि आफन्त र सहयोगी लिएर वा बोकिएर जानुपर्ने अवस्था थियो,' उनले भने, 'अब यस्तो झन्भि्कटिलो अवस्था अन्त्य भएको छ।' उनले गाउँकार्यपालिकाको बैठकको निर्णय लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिमा विकास बैंकको दरवाङ शाखालाई समेत जानकारी गराएका छन्।बैंकका प्रतिनिधि, वडा सचिव, सम्बन्धित वडा अध्यक्ष र सदस्यले भत्ता वितरणमा सघाउने गरी संयन्त्र समेत बनाइएको उनले बताए।घरदैलोमै भत्ता पाउने निर्णयले दिनभरीको यात्रा गरेर बैंकसम्म आउने वृद्धवृद्धामा उत्साह थपिएको छ।

यसैबीच सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य शिविर र वृद्धवृद्धालाई आवश्यक अन्य सरकारी सेवामा समेत प्राथमिकता दिने तयारी गाउँपालिकाले गरेको छ। नेपाली कांग्रेसबाट प्रमुखमा विजयी रोकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग समेत सहकार्य गरेर नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाए। उनले युवा राजनीतिबाट पलायन भएर विदेश वा अन्य क्षेत्रमा आकर्षित भइरहेको अवस्थामा उनीहरुलाई राज्यको नीति निर्माणका क्षेत्रमा सक्रिय गराउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

साविकका गाविसका सचिवले अनियमितता र वितरणमा ढिलासुस्ती गरेपछि बैंकिङ प्रणालीको प्रयोग गरी वितरण गर्ने सुरू गरिएपनि वृद्धवृद्धाले घन्टौं लाइनमा बसेर भत्ता लिन पर्ने बाध्यता रहेको थियो। भत्ता लिन आएका धेरैजसो बिरामी समेत हुन थालेपछि सेवाग्राहीले चर्को आलोचना गरेका थिए। बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोका, रघुगंगा गाउँपालिकाका प्रमुख भबबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका प्रमुख डमबहादुर पुनले राज्यबाट दिइने सुविधा जनताको घरदैलोमै उपलब्ध गराउने घोषणा गरिसकेका छन्।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:२८ सोमबार

सामाजिक सुरक्षा भत्ता घरदैलोमै