अर्थ

सिट च्यात्तिए, स्टिलको ह्याण्डलमा खिया लागिसक्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिना मात्र कटेको छ। गत जनवरी १ देखि औपचारिक रूपमा सञ्चालनमा आएको विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित छ।अहिलेसम्म अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागिसकेको छैन। विमानस्थल अहिलेसम्म एकमात्र अन्तर्राष्ट्रिय उडानको अवतरणमा सीमित छ।

विमानस्थलका भौतिक संरचना भने कमजोर बन्न थालिसकेका छन्। यात्रु कक्ष भद्रगोल बनेको छ। यात्रु बस्ने कुर्सीको सिट च्यात्तिएको, स्टिलको ह्याण्डलमा खिया लागेको, उडान रोकिए यात्रुलाई सिट अपुग हुने गरेको र सिटको बीचबीचमा प्वाल परिसकेको छ। विमानस्थलको व्यवस्थापन पक्ष कमजोर हुँदा अन्तर्राष्ट्रिय विमानस्थलबारे नकारात्मक सन्देश फैलने चिन्ता पर्यटन क्षेत्रले गर्न थालेको छ।

यात्रुहरूका अनुसार अहिले प्रस्थान कक्षमा राखिएका यात्रु बस्ने कुर्सीका सिट च्यात्तिएका छन्। बीचबीचमा प्वाल परेका छन्। डण्डीमा पनि खिया लागि सकेको छ।

विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारीका अनुसार आगमन कक्षमा यात्रु नबस्ने हुनाले कुर्सी राखिएको छैन। यात्रु जहाजबाट ओर्लिएपछि सिधै बाहिर निस्केर गन्तव्यमा जाने भएकाले सिट राखिएको छैन। डिपार्चर (प्रस्थान) कक्षमा भने करिब ६ सयवटा सिट छन्। आन्तरिकतर्फको डिपार्चर कक्षमा ६ सय सिट संख्या रहेको उनले बताए। उनका अनुसार पोखराको पुरानो विमानस्थलको डिपार्चर कक्षका कतिपय सिट निकालेर अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा राखिएको थियो।

‘कतिपय यात्रु औंलाको नङले सिट कोट्याउँदै बस्ने गरेकाले च्यात्तिएको हुनसक्छ तर हामीले अहिलेसम्म त्यस्तो देखेका छैनौ। कतै समस्या देखिएछ भने तत्काल सुधार हुनेछ,’ अधिकारीले भने, ‘पुरानो विमानस्थलबाट निकालेर लगेका कुर्सीमा केही समस्या आएको पनि हुनसक्छ।’ अधिकारीका अनुसार यसअघि नै भाच्चिएको अवस्थामा फेला परेको कुर्सी मर्मतसम्भार गरिएको थियो। ‘यात्रुले पनि बद्मासी गरिदिन्छन्, सानो प्वाल देखेपछि त्यसैलाई कोट्याएर ठूलो बनाइदिने गर्छन्,’ उनले भने, ‘तर त्यस्तो समस्या देखिएमा तत्काल समाधान हुनेछ। नत्र भने अन्तर्राष्ट्रिय विमानस्थलप्रति नकारात्मक धारणा बन्नेछ। हामीले त्यस्ता कुर्सी फेला पा¥यौं भने तत्काल मर्मत गर्नेछौं।

उनका अनुसार नौवटा उडानका यात्रु थपिँदासम्म सिट अभाव हुँदैन। किनभने पोखरामा एउटा उडानमा अधिकतम यात्रु ७० जना उड्छन्। सबै उडान एकैपटक पनि पर्दैन। केहीगरी ढिला हुँदै गएर नौवटासम्म उडानका यात्रु थपिएमा मात्र ठाउँ अभाव हुने, अन्यथा अपुग नहुने उनले बताए। ‘नौवटा उडानका यात्रुको क्षमता प्रस्थान कक्षसँग छ। आक्कल झुक्कलबाहेक यात्रुलाई सिट अभाव भएको थाहा छैन,’ उनले भने, ‘किनकि उडान रोकिएमा मात्र समस्या पर्ने हो, नत्र पर्दैन।’

बारम्बर हवाई माध्यमबाट राजधानी आउजाउ गर्ने एकजना पर्यटन व्यावसायीका अनुसार डिपार्चर हल साँघुरो छ भने सिट पनि च्यातिएका छन्। सिटमा बीचबीचमा प्वाल परेको छ। ‘अन्तर्राष्ट्रिय विमानस्थलको झल्को पाउन मुस्किल छ। ६ महिना अघि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्ट्यान्डर्ड कायम राख्न सकेको छैन,’ ती व्यावसायीले भने, ‘अहिल्यै त्यत्तिसारो नहुनुपर्ने हो। व्यवस्थापन चुस्त देख्न सकिन्न। बाहिरबाट हेर्दा विमानस्थल भव्य देखिए पनि आन्तरिक सुविधा फितलो र कमजोर छ।’  

केहीगरी उडान ढिला भए यात्रुको चाप बढ्ने हुँदा बस्ने ठाउँसमेत नपुग्ने ती व्यवसायीले बताए। ‘दुईवटा उडानको यात्रु थपिने हो भने बस्ने ठाउँ पनि पाइँदैन। पर्यटकीय सहर भएकाले आउजाउ गर्ने यात्रु धेरै हुने र विमानस्थलबारे अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश फैलिन सक्ने भएकाले व्यवस्थापन अलि चुस्त बनाउनुपर्ने हो,’ उनले भने, ‘सुधारका धेरै पक्ष बाँकी छन्। सबैभन्दा बढी सकस त उडान समय पर्खिन ।

प्रकाशित: १९ असार २०८० ०६:१७ मंगलबार