अर्थ

आर्थिक मुद्दालाई एजेन्डा बनाउन परिसंघको माग

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले राजनीतिक दलहरूले आर्थिक मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा यस्तो बताएका हुन्।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरू सम्मिलित टोलीले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गर्दै यस्तो धारणा राखेका हुन्। नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरूको मुख्य एजेण्डा आर्थिक मुद्दा बन्नुपर्ने बताए।

अर्थतन्त्र सुधारका लागि आर्थिक विषयलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए। अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक वृद्धि हासिल गर्न निजीक्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने धारणा राखे। जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यावसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा उनले जोड दिए।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताए। प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको भन्नुहुँदै उहाँले अर्थतन्त्रका विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको बताए। निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए। 

प्रकाशित: १९ असार २०८० ०६:०८ मंगलबार