अर्थ

महासंघ र परिसंघबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजीक्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ। महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन्।  

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए। ढकालले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

‘महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ। यसले सकारात्मक सन्देश दिनेछ,’ ढकालले भने।  

यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरूबीच पनि सहकार्य आवश्यक रहेको बताए। परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो।

प्रकाशित: १९ असार २०८० ०५:११ मंगलबार

महासंघ र परिसंघबीच सहकार्यमा जोड नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ