अर्थ

नेपाल रिपब्लिक मिडियाको स्वामित्व अब आम नागरिकमा

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट कार्यक्रमको सोमबार उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ । साथमा मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवाली ।  तस्बिर ः नागरिक

आम नागरिकलाई सेयर स्वामित्व हस्तान्तरण गरी नेपाल रिपब्लिक मिडिया मुलुककै मिडिया क्षेत्रको पहिलो पब्लिक कम्पनी बनेको छ। सर्वसाधारणलाई मिडियाको स्वामित्व महसुस गराउन जारी गरिएको आइपिओ (प्राथमिक सेयर निष्कासन) को अन्तिम बाँडफाँट सोमबार सम्पन्न भएसँगै रिपब्लिक मिडिया आम नागरिकको बनेको हो।

प्राथमिक सेयरमा १२ लाख ९९ हजार ७२७ जनाले आवेदन भरेका भए पनि ६ हजार ९२० जनाको आवेदन रद्द भएपछि १२ लाख २७ हजार ५६९ आवेदन मात्र योग्य भएका थिए । गत जेठ २६ देखि ३० सम्म सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता सेयर जारी गरिएको थियो। यसमा सर्वसाधारणको अत्यधिक रुचिका कारण ३.७ गुणा बढी आवेदन परेको थियो। अत्यधिक मागका कारण राउन्ड रोबिन प्रक्रियाअन्तर्गत ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। एक व्यक्तिलाई भने ११ कित्ता सेयर परेको छ।

मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले सेयर बाँडफाँट कार्यक्रममा अब सञ्चार क्षेत्रलाई संस्थागत गर्ने उचित समय आएको बताइन्। ‘नागरिक’ र ‘रिपब्लिका’ दुवैको अर्थ जनता रहेको र संस्थाको स्थापनाकालदेखि नै कम्पनीले सर्वसाधारणलाई ध्यानमा राखेर काम गरेको बताइन्। समावेशी संस्था बनाउन र नेपालको विविधतापूर्ण जनसंख्याको वास्तविक प्रतिनिधित्व गर्न सर्वसाधारणका लागि सेयर जारी गरिएको जानकारी उनले दिइन्। ज्ञवालीले कम्पनीको लक्ष्य नै तीन ‘टी’ रहेको बताउँदै ट्रान्जिसन (संक्रमण) लाई जित्दै ‘ट्रान्सिन्डेन्ट’ (उच्च लक्ष्य पूरा गर्ने) र ‘ट्रस्ट’ (विश्वासिलो) संस्थाका रूपमा यसलाई अघि बढाउनेतर्फ काम अघि बढाइएको बताइन्।

‘आजदेखि कम्पनीले नेपालकै पहिलो सेयर कारोबार गर्ने मिडिया कम्पनीको श्रेय पाएको छ,’उनले भनिन्, ‘कोभिड १९ को प्रभावका कारण कम्पनीको आम्दानीमा गहिरो असर पुर्याए पनि आउँदा वर्षहरूमा यसले उल्लेख्य आम्दानी बढाउने विश्वास छ।’ आर्थिक वर्ष २०८०÷८१ मा केही सकारात्मक संकेत देखिएकाले कम्पनीले आर्थिक सुधार गर्ने विश्वास उनले व्यक्त गरिन्।

‘नागरिक’ र ‘रिपब्लिका’ दुवैको अर्थ जनता रहेको र स्थापनाकालदेखि नै कम्पनीले सर्वसाधारणलाई ध्यानमा राखेर काम गर्दै आएको छ। समावेशी संस्था बनाउन र नेपालको विविधतापूर्ण जनसंख्याको वास्तविक प्रतिनिधित्व गर्न सर्वसाधारणका लागि सेयर जारी गरिएको हो। – समृद्धि ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नेपाल रिपब्लिक मिडिया

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालकै प्रथम मिडिया कम्पनीले यसरी सेयर बजारमा आफ्नो उपस्थिति जनाउँदै कारोबार थाल्नु सुखद पक्ष भएको बताउँदै कम्पनीको सफलताको कामना गरे। नेपाल रिपब्लिक मिडियाले प्राथमिक सेयरको ४४.९९२२ प्रतिशत सेयर जारी गरेको थियो। तीमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर (४ प्रतिशत) कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको थियो। यस्तै ५ प्रतिशत सेयरको हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्याइएको थियो। यस्तै ४ लाख ३५ हजार ३ सय कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुट्याइएको थियो। यसपछि बाँकी हुन आएको ३६ लाख १९ हजार ८९१ सेयरलाई सर्वसाधारणका लागि छुट्याइएको हो।

नेपालको कम्पनी रेटिङ गर्ने संस्था इन्फोमेट्रिक नेपालले नेपाल रिपब्लिक मिडियालाई ‘आइआरएन बि प्लस’रेटिङ दिएको छ।  

कोभिड १९ अघि कम्पनीले वार्षिक ६० देखि ७० करोड रूपैयाँको कारोबार गरिरहेकोमा हाल घटेर १७ करोड हाराहारीमा झरेको ज्ञवालीले बताइन्। कम्पनीको आर्थिक स्वास्थ्य सुधार्न विभिन्न कार्य थालिएको जानकारी दिइन्। आउँदा तीन वर्षमा कम्पनीको ध्यान तीन ‘टी’मा केन्द्रित गर्दै प्रिन्ट र डिजिटलको आम्दानी बढाउनेतर्फ कदम चालिने उनले बताइन्। यसका लागि कम्पनीभित्र कार्यकुशलता र फराकिलो सोच बनाउन लगानी गरिने बताइन्। आर्थिक लक्ष्य हासिल गर्न चुनौती ठुलो भए पनि कम्पनीले तयार पारेका रणनीतिले लक्ष्य प्राप्ति अप्ठेरो नहुने ज्ञवालीले बताइन्। उनले गुणस्तरीय पत्रकारिताका माध्यमबाट कम्पनीले फड्को मार्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: १२ असार २०८० ०१:१२ मंगलबार

नेपाल रिपब्लिक मिडियाको स्वामित्व अब आम नागरिकमा