अर्थ

झन्डै ११ करोडले बढ्यो भरतपुरको बजेट, ६ अर्ब ३१ करोड ७९ लाख सार्वजनिक

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि चालू आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षका लागि पुरक समेत गरी  ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो।

महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ।

यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ। चालु आर्थिक बर्षमा महानगरपालिकाले १ अर्व २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ । आगामी आर्थिक बर्षका लागि १ अर्व ७५ करोड उठाउने लक्ष्य लिएको छ।आन्तरिक आयमा घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १ अर्व ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्व ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन्।

अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले १ अर्व १० करोड रुपैया अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शिर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताईएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ।

महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक बर्ष २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो।

सहरी पूर्वाधार, भू–उपयोग तथा वस्ती विकास कार्यक्रमका लागि महानगरपालिकाले ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये महानगरपालिका ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न एवम् संघीय र बाग्मती प्रदेश सरकारबाट प्रस्ताव भएका समपुरक साझेदारी कोष स्थापना गर्न १० करोड विनियोजन भएको छ।

महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरु निर्माण, फाउण्डेसन सहितको मेसजाली निर्माण हरियाली सहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ओभरहेड ब्रिज निर्माण, परियोजना बैंक निर्माण लगायतका सहरी सौन्दर्यका लागि १६ करोड विनियाजन भएको छ । चालु आर्थिक बर्षमा स्रोत सुनिश्चिता गरी ठेक्का लगाइएका योजनाको स्रोत व्यवस्थापन गरी समयमा सम्पन्न गर्न १२ करोड छुट्टाएको छ।

कृषि तथा पशु विकासमा १५ करोड

महानगरपालिकाले कृषि तथा पशुविकासमा १५ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ।कृषि क्षेत्रमा ७ करोड र पशु क्षेत्रमा ८ करोड गरी १५ करोड रुपैयाँ विनियोजन गरेको हो।कृषिको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकरण कार्यक्रमलाई निरन्तरता, कृषिहरुको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तन्तरणका तालिमा सञ्चालन, कृषकहरुलाई अनुदानमा कृषि यन्त्र, बिउ अनुदानका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए।  

दुध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिँदै आएको महानगरले निरन्तरता दिएको छ।पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको रोग निरोधात्मक, प्रतिरोधात्मक र उपचारात्मक सेवाहरु प्रदान लगायतका शिर्षकमा ८ करोड रुपैयाँ विनियोजन भएको छ।

शिक्षामा १७ करोड ३० लाख

शिक्षाको विकासका लागि यसपटक महानगरले १७ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । पढ्दै कमाउँदै कार्यक्रम, विद्यार्थीसंग मेयर कार्यक्रम, माध्यमिक विद्यालयको स्तरोन्नति, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नतिजाका आधारमा पुरस्कृत गर्ने तथा शिक्षामा पहुँच एवम् गुणस्तर कायम गर्ने लगायतको शैक्षिक विकासको नीति कार्यन्वयन गर्न १३ करोड, महानगर प्रज्ञा प्रतिष्ठान, भाषा, कला र संस्कृति संरक्षण संवद्र्धन तथा अध्ययन गर्न ३० लाख रुपैँया विनियोजन भएको छ।सडक खल्टाखुल्टीको नियमित मर्मत संभार कार्यको लागि ५ करोड विनियोजन गरिएको छ।

स्वास्थ्य सेवामा ४ करोड मात्र बजेट

स्वास्थ्य क्षेत्रमा बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने हुन्छ । तर, महानगरले १ प्रतिशत पनि विनियोजन गरेको छ । स्वास्थ्य सेवामा ४ करोड मात्र विनियोजन भएको छ । बालबालिका ज्येष्ठ नागरिक तथा लक्षित महिला समुहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन, समुदायसंग मेयर स्वास्थ्य कार्यक्रम, आयूर्वेद प्रकृतिक चिकित्सा तथा योग संचालनका गर्न एकमुष्ट सो रकम विनियोजन गरिएको हो । महानगरपालिकाले यस बर्ष सामुदायिक विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण कार्यक्रम समेत राखेको छ । भरतपुर महानगरपालकामा डेंगु स्क्रपटाइफसका विरामी बढी भेटिन्छन् ।

खानेपानी, वातावरण सरसफाई हरियाली प्रवद्र्धन गर्न १२ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सूचना प्रविधि एवम् डिजिटल प्रणाली सञ्चालन गर्न ४ करोड, सहकारी तथा रोजगार प्रवद्र्धन गर्न १ करोड, पर्यटन उद्योग वाणिज्यको लागि ४ करोड रुपैयाँ छुट्टाईएको छ ।  भरतपुर–पोखरा–लुम्बिनी पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न २ करोड, पर्यटन बर्ष २०२४ कार्यान्वयनको गर्न २ करोड प्रस्ताव गरिएको हो ।

युवा तथा खेलकुद क्षेत्रका लागि ५ करोड, लैंगिक समानाता, महिला सशक्तिकरण र सामाजिक समावेशीकरणमा २ करोड, विपद व्यवस्थापनमा १ करोड ४९ लाख, राजश्व प्रशासन सञ्चालन गर्न १ करोड, कर्मचारी प्रशासन, जनशक्ति विकास तथा सुशासन कायम राख्न ८० लाख, निजी क्षेत्र तथा विकास सहयात्रीसंग सहकार्य गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

महानगरपालिकाको समग्र प्रशासनिक कार्यको लागि ८५ करोड बजेट, मागमा आधातिर कार्यक्रमका लागि ४७ लाख, महानगरपालिका भित्र सिसी क्यामेरा जडान गर्न २ करोड ९० लाख रुपैयाँ तोकिएको छ। 

प्रकाशित: १० असार २०८० ०८:२१ आइतबार

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड