अर्थ

शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड

त्रिवेणीकाे नीति तथा कार्यक्रम

त्रिवेणी नगरसभा उद्घाटन गर्दै नगरप्रमुख। तस्बिर: नागरिक

त्रिवेणी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट आउने एक दिन पहिला नगरसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। पालिकाले यो आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको छ।

आत्मनिर्भर जनता त्रिवेणीको पहिचान भएकाले प्रत्येक परिवारलाई उत्पादनसँग जोड्ने नीति लिएको छ। बालबालिकालाई गुणस्तरीय शिक्षा, परिवारलाई उत्पादनमा आधारित काम र अवसरमा ध्यान दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन्।

नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा किसानको बारीमै प्राविधिक पठाउने र महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति समेटिएको छ। साविक कैलाशमाडौं र छतारा गाविस क्षेत्रलाई समेट्ने गरी कृषि र पशुसेवा शाखा विस्तार गर्ने र पशु चौपायाका गोठ छाना र किसानको बारीमा प्राविधिक पुर्‍याउने लक्ष्य लिएको छ।

त्रिवेणी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट आउने एक दिन पहिला नगरसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

कृषि खेती नै पहिलो आश्रित विकल्प भएपछि त्यही पेशालाई आधुनिक र उत्पादनमुखी बनाउने नीति नगरले लिएको उपप्रमुख कमला कुमारी जैशीले बताएकी छन्। त्रिवेणीले पर्यटन प्रवद्र्धन र सांस्कृतिक सभ्यताको संरक्षणलाई पनि प्रामिकतामा राखेको छ। बडीमालिका क्षेत्रको विकास पहिलो प्राथमिकतामा राखिएको छ।

बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा विकास गर्ने, बडीमालिका जोड्न केबल कारको संभाव्यता अध्ययन गर्ने, नाटेश्वरी र बडीमालिकामा संरचना विकासमा जोड दिने र आन्तरिक पर्यटन विकासलाई जोड दिई त्रिवेणीको प्रमुख आम्दानीको श्रोत नै पर्यटन विकासलाई बनाउने लक्ष्य लिएको छ।

नगरले सडक सञ्जाल नजोडिएको ५ नम्बर किम्नीमा यसै वर्ष बाटो निर्माण कार्य सम्पन्न गर्ने र पालिकाका सबै बस्तीमा सहज यातायात सेवा सञ्चालन हुने अवस्थाका सडक मर्मत तथा पुनः निर्माण गर्ने नीति लिएको छ। भौतिक पूर्वाधार विकासका योजनालाई दीर्घकालीन विकास र सुविधासँग जोडेर निर्माण गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताएका छन्।

उपप्रमुखसँग महिला उद्यम कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा समेटेको छ। महिलालाई नै उत्पादन, आयआर्जन र सीप आर्जनसँग जोड्न पर्ने अवस्था आएकाले नीतिमै सो कुरा उल्लेख गरिएको उपप्रमुख कमला कुमारी जैशीले बताएकी छन्। जैशीले नीति तथा कार्यक्रममै महिला लक्षित र महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम ल्याएको दाबी गरेकी छन्।

बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा विकास गर्ने, बडीमालिका जोड्न केबल कारको संभाव्यता अध्ययन गर्ने, नाटेश्वरी र बडीमालिकामा संरचना विकासमा जोड दिने र आन्तरिक पर्यटन विकासलाई जोड दिई त्रिवेणीको प्रमुख आम्दानीको श्रोत नै पर्यटन विकासलाई बनाउने लक्ष्य लिएको छ।

नगरक्षेत्र भित्रका अपांग, असहाय, अशक्त र अति विपन्न परिवारलाई स्वास्थ्य उपचारका लागि पालिकाले नै जिम्मा लिने नीति लिएको छ। एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मेयर छात्रवृत्ति र पुरस्कार दिने नीति लिएको छ भने विद्यालयको गुणस्तर सुधारका लागि विद्यार्थी मेयर भेटघाट कार्यक्रम राखेको छ।

स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्यकर्मी नियमित उपलब्ध हुने, सत प्रतिशत खोप र संस्थागत तवरले सुत्केरी गराउने ग्यारेन्टी गराउने कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ। पालिकाले आफ्नो ऐतिहासिक र सांस्कृतिक परिचय खुल्ने गरी पुस्तक प्रकाशन गर्ने, पालिकाको विकास निर्माणको अवस्था झल्किने गरी दृश्य र श्रव्य सामग्री तयार पार्ने नीतिगत व्यवस्था गरेको छ।

भाषा, कला, साहित्य र अन्य लेखन विधामा रहेका व्यक्तिहरूलाई सम्मान र संरक्षण गर्ने, स्वास्थ्य स्वयम् सेविकालाई विशेष सम्मान कार्यक्रम ल्याउने नीति लिएको छ। खेलकुद सम्बन्धी पञ्च वर्षीय योजना निर्माण गरी खेलक्षेत्रका लागि विशेष बजेट व्यवस्थान गर्ने नीति लिएको बताएको छ। प्रत्येक विद्यालयमा खेल शिक्षक राख्ने, सहकारीलाई व्यवस्थित गर्ने र कृषि हाट बजार सञ्चालन गर्ने नीति लिइएको उल्लेख छ।

स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्यकर्मी नियमित उपलब्ध हुने, सत प्रतिशत खोप र संस्थागत तवरले सुत्केरी गराउने ग्यारेन्टी गराउने कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ।

नगरसभा हलमा आयोजित कार्यक्रममा नगरसभा सबै सदस्यहरूले सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित गरेका हुन्। नगरसभा सदस्यहरूबाटै थप सुझाव र धारणा मागिएको थियो। सुझाव दिनेहरूले अनुदानका कार्यक्रम कटौती गरेर ऋण सहयोग र काम गरेका व्यक्तिलाई प्रोत्साहन सुविधा दिनुपर्ने सुझाव दिएका छन्। 

प्रकाशित: १० असार २०८० ०३:०५ आइतबार

शिक्षा स्वास्थ्य र उत्पादनमा जोड त्रिवेणीकाे नीति तथा कार्यक्रम