स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ।उद्योग संगठन मोरङको पहलमा नेटवर्क स्थापना भएको हो।
नेटवर्कमा उद्योग संगठन मोरङका अध्यक्ष, विराटनगर महानगरपालिकाका मेयरलगायत उद्योगी व्यवसायीहरू सहभागी छन्। नेटवर्कमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला,उद्योगी व्यवसायीहरू सुयश प्याकुरेल, नन्द किशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपक कुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोष कुमार भगत छन्। यस्तै सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनय विष्णु के.सी, युक्ति गोल्छा, राघव कोईराला, मनोज विक्रम शाह, विकास कुमार वेगवानी, अशोक वगडिया, रोमन कट्टेल रहेको उद्योग संगठन मोरङले जनाएको छ।
उद्योग संगठन मोरङले स्टार्टअप उद्यमीको प्रबद्र्धनका लागि विगत दुई वर्ष देखि स्टार्टअप कार्यक्रम सञ्चालन गरिरहेको छ। स्टार्टअप कार्यक्रमको दोश्रो सत्रमा व्यवसायीक विकासको सेवा अन्तर्गत बजारीकरण, वुट क्याम्प, हाटबजार लगायतका कार्यक्रम संचालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए। उनले संगठनको मेन्टरसिपमा रहेका स्टार्टअपहरुलाई लगानीमा पहुँच पुर्याउदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल ईन्भेष्टरर्स नेटवर्क गठन गरिएको बताए।
नेटवर्कले व्यावसायिक योजना भएर पनि लगानीका लागि विउपूँजीको अभावमा व्यवसाय सुरु गर्नबाट वन्चित भएका व्यवसायीलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुरानाले बताए। विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उद्योग संगठन मोरङले सानो स्वरूपमा संचालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफ्नो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरूपमा लागि युवाहरूलाई उद्यमशीलता विकास तर्फ अभिप्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे।
स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले ईन्भेष्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले कार्ययोजना तयारी गरिरहेको जानकारी दिए। यसले युवा उद्यमशीलता विकासमा छुट्टै आयाम थप्ने विश्वास व्यक्त गरे। उनले असार ११ गते संगठन अन्तर्गतका दोश्रो चरणका तेह्र स्टार्टअपहरुले आफ्नो व्यवसायको पिचिङ गर्ने र आफुलाई उपयुक्त लागेको व्यवसायमा ईन्भेष्टरर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको बताए।
प्रकाशित: ८ असार २०८० १२:३९ शुक्रबार