अर्थ

सशस्त्रलाई तीन केवलकारको टिकटमा छुट

फाइल तस्वीर

आइएमई समूहद्वारा सञ्चालित केवलकार कम्पनीहरू चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन्।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीन वटै केवलकार कम्पनीहरूले छुट प्रदान सम्बन्धी सम्झौतामा बिहीवार हस्ताक्षर गरेका छन्। सम्झौता बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केवलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन्।

 सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारले नाता प्रमाणित गरिएको कागजात देखाउनु पर्नेछ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कँडेल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जिव थापाले हस्ताक्षर गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, आइएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेकविक्रम शाह लगायतको उपस्थिति थियो।

प्रकाशित: ८ असार २०८० ०३:३७ शुक्रबार

सशस्त्रलाई तीन केवलकारको टिकटमा छुट आइएमई समूहद्वारा सञ्चालित केवलकार कम्पनी