अर्थ

सर्त थोपर्दै मेलम्ची ठेकेदारः असोजमा पानी आउने सम्भावना कम

सिन्धुपाल्चोकको ग्याल्थुमबाट सुरुङभित्र प्रवेश गर्दै मजदुर । तस्बिरः उपेन्द्र लामिछाने

काठमाडौं– सरकारले असोजभित्रै काठमाडौं उपत्यकावासीको धारोमा मेलम्चीको पानी ल्याउने घोषणा गरे पनि ठेकेदार कम्पनीले भने सोही अनुपातमा सुरुङ खन्ने गति बढाउन सकेको छैन । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनीले सुरुङ खन्ने गति बढाउनुको सट्टा नयाँ–नयाँ सर्त थोपर्दै आएको छ ।

जसले गर्दा असोज महिनाभित्रै मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ । गत १७ फ्रेबुअरीमा मेलम्ची खानेपानी उपआयोजना र ठेकेदार कम्पनीबीच सन् २०१७ अक्टोबर(असोज) महिनाभित्रै मेलम्चीको पानी काठमाडौंमा खसाल्ने सहमति भएको थियो । तर, २७.६ किलोमिटर सुरुङमध्ये अझै करिब ३ हजार सात सय ६० मिटर सुरुङ खन्न बाँकी भएकाले निर्धारित समयभित्र पानी आउने सम्भावनामा बिराम लागेको हो ।

सम्झौताअनुसार आयोजनाले सुरुङ खन्नका लागि अत्यावश्यक पर्ने उपकरण खरिद गर्न बैंक ग्यारेन्टीमार्फत ३० करोड रुपैयाँ उपलब्ध गराउने र ठेकेदारले कामको गति बढाएर तोकिएको समय सीमाभित्र काठमाडौं उपत्यकावासीको धारामा पानी झार्ने लक्ष्य राखिएको थियो । ठेकेदार कम्पनीले सम्झौता गरेको दुई महिना बित्दासमेत सुरुङ खन्ने गति बढाएको छैन ।

ठेकेदार कम्पनी इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) अहिले दैनिक १५ देखि २० मिटर सुरुङ खन्दै आएको मेलम्ची खानेपानी उपआयोजनाले जनाएको छ । सीएमसीले सरदर दैनिक २० मिटरका दरले खन्न सकेमा अझै साढे ६ महिना समय सुरुङ खन्नमा मात्रै लाग्नेछ । सुरुङ सकेर मात्रै पानी ल्याउन सम्भव छैन । सुरुङ खन्ने काम पूरा हुनका अलावा यसभित्रका अन्य प्राविधिक पक्ष काम पुरै बाँकी छ । सुरुङ खनिसकेपछि सुरुङको इन्भर्ट(भुइँको ढलान), फिनिसिङ, गेट भेन्टिलेटर निर्माण, अष्टिकल फाइबर बिच्छ्याउने र सीसी क्यामेरा र ट्रिटमेन्ट प्लान्ट बनाउनेलगायतका काम गरेपछि मात्रै सुरुङबाट पानी ल्याउन सकिन्छ  । तर, अहिलेसम्म यी कामको सुरसार नै छैन ।

‘मेलम्चीको हेडवक्र्स (मुहान) क्षेत्रमा असोजभित्रै स्थायीखालको संरचना बनाएर पानी ल्याउन सकिँदैन,’उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले भने, ‘तत्कालका लागि अस्थायी संयन्त्रबाट पानी ल्याउन पनि ठेकेदारले कामको गतिमा धेरै नै सुधार गर्नुपर्ने छ ।’ उनका अनुसार दैनिक ३० मिटर सुरुङ खनेर मात्रै पुग्दैन, हेडवक्र्स क्षेत्रमा अस्थायी संरचनाको कोफर ड्यामसमेत निर्माण गरेर पानीलाई सुरुङभित्र छिराउनुपर्छ । बर्सातअगावै नै ड्यामलगायतका कार्य सक्नुपर्ने छ ।

सीएमसीले असोजमा नै पानी ल्याउन मेलम्ची खानेपानी उपआयोजनाले थप ४० करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने सर्तसहितको नयाँ प्रस्ताव पेस गरेको छ । उपकार्यकारी निर्देशक दुवाडीले भने, ‘नरम चट्टान भएका स्थानमा सपोर्ट राखेर गति बढाउने प्रस्ताव ठेकेदार कम्पनीले ल्याएको छ । प्रस्तावको अध्ययन भइरहेको छ  ।  त्यस प्रस्तावअनुसार काम गर्न सकिन्छ कि सकिँदैन भन्नेमा अहिले नै ढुक्क हुने स्थिति छैन ।’ उनले प्रस्तावको अध्ययनपछि कार्यान्वयन गर्न सकिने अवस्था यकिन गरेर मात्रै उक्त रकम दिन सकिने बताए । आयोजना पूरा भएपछि  मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने आयोजनाले जनाएको छ । यसअघि पनि ठेकेदार कम्पनीले समयमा नै हेडवक्र्स डिजाइन उपलब्ध नगराएको भन्दै उपआयोजनाबाट क्षतिपूर्तिवापत ५८ करोड रुपैयाँ लिइसकेको छ ।  

अहिले हतारमा अस्थायी संंरचना निर्माण गरेर पानी ल्याउने काम कठिन र जोखिमपूर्ण हुनेछ । ‘अस्थायी संयन्त्रबाट सोझै पानी सुरुङमा छिराउँदा सुरुङभरि ढुङ्गाबालुवा छिर्ने जोखिम हुन्छ,’ एक इन्जिनियरले भने,‘सुरुङमा छानेर मात्रै पानी पठाउनु पर्छ ।’   

मेलम्चीको हेडवक्र्स क्षेत्रमा ६० मिटर लम्बाइ भएको ११ मिटर उचाइ भएको चट्टान अझै फोर्न बाँकी नै छ । डाडाँलाई काटेपछि मात्र अस्थायी खालको ड्याम निर्माण गर्ने बाटो खुल्छ । खोलालाई डाइर्भसन गरेर मेलम्चीको सुरुङ जोड्ने मार्ग बनाउन आवश्यक छ । अस्थायी ड्याम बनाएर मात्रै पानी ल्याउन सकिदैँन । सुरुङको मुख्यद्वार र अस्थायी ड्यामबीचको ६० मिटर क्षेत्रमा १.६ मिटर ड्यासको पाइप राख्नुपर्छ ।


 

 

 

प्रकाशित: १३ वैशाख २०७४ ०५:२५ बुधबार

सर्त थोपर्दै मेलम्ची ठेकेदारः असोजमा पानी आउने सम्भावना