अर्थ

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ६० करोड

नगर सभामा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ लगायत।

आर्थिक वर्ष २०८०/८१ का लागि हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शनिबार भएको उपमहानगरको १३ औं नगर सभामा उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन्।

प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

बजेटमा उल्लेख भए अनुसार उपमहानगरको पूर्वाधार विकासतर्फ १ अर्ब रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

हेटौंडा उपमहानगरपालिकाले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ८ करोड, हेटौंडा–४ स्थित वासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि २ करोड, चालु आवमा सम्झौता भई जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदम पोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याएको छ।

हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, एकीकृत अटो भिलेज निर्माणमा ८० लाख, पिप्ले–क्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख, वडा गौरवको योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

खानेपानी व्यवस्थापनतर्फ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख, न्यूनतम महशुल रकम भुक्तानीको लागि १ करोड, कृषि विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालनका लागि सशर्तसमेत गरी ५ करोड ४ लाख रुपैयाँ, पशु विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालन गर्न २ करोड ३६ लाख रुपैयाँ, उद्योग, वाणिज्य, सहकारी तथा लघु उद्यमतर्फका कार्यक्रम तथा योजना संचालनका लागि ८५ लाख, पर्यटनतर्फ १ करोड २० लाख, रोजगार प्रवर्द्धन कार्यक्रममा ६९ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनामा ८५ लाख, अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधान आयोजना सम्बन्धी कार्यका लागि २५ लाख विनियोजन गरेको छ।

शिक्षा तर्फका कार्यक्रम तथा योजना संचालनमा ७६ करोड ५५ लाख, स्वास्थ्यमा ६ करोड ९० लाख युवा तथा खेलकुदतर्फ २ करोड ९७ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा १ करोड ४२ लाख, महिला तथा बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकतर्फ १ करोड ५१ लाख, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ४७ लाख, न्यायिक समिति संचालन तथा व्यवस्थापनमा १ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: २ असार २०८० ०९:४६ शनिबार

हेटौंडा उपमहानगर