अर्थ

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

विदेशमा रहेका धमिलिकुवाबासीको आर्थिक सहयोगमा निर्माणाधीन सिँढीदार बाटो । तस्बिर सौजन्यः सुरेन्द्र नखोला

काठमाडौं– लमजुङको राइनास क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको प्रवद्र्धन गर्न सोही ठाउँबाट बिदेसिएका दुई युवाले पहल थालेका छन् । राइनास नगरपालिकाको वडा नं. ६ अन्तर्गतको धमिलिकुवास्थित मस्र्याङ्दी किनारमा आकर्षक झरना, गुफा जस्ता प्राकृतिक सम्पदा रहेकोले त्यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर गाउँको आर्थिक स्तर उकास्न सकिने भन्दै रोजगारीका सिलसिलामा बिदेसिएका धमिलिकुवाका अर्बिन चिलुवाल र सुन्दर नखोलाले पहलकदमी थालेका हुन् ।

कतारको इन्टरटेक नामको कम्पनीमा कार्यरत टेलिकम इन्जिनियर चिलुवालले उक्त अभियान अन्तर्गत पहिलो चरणमा सो क्षेत्र पुग्ने पैदल मार्ग निर्माण भइरहेकोबताए । उक्त ठाउँलाई कर्मादा शिव ढुन्ढुुरगुफा नामकरण गरी अभियान चलाएको संयोजक  चिलुवालको भनाइ छ । विदेशमा बसोबास गर्ने सोही ठाउँका युवाहरुबाट १० लाख रुपैयाँ संकलन गरी सिंढीदार बाटो बनाउने र त्यसमा रेलिङ राख्ने काम भइरहेको छ । सहज पहुँच मार्गको काम ६० प्रतिशतसम्पन्न भइसकेको साइट सुपरभाइजर सुनिल श्रेष्ठले जानकारी दिए । सोही ठाउँकाइन्जिनियर बसन्त श्रेष्ठ, किरण चिलुवाल र दिपेश पाण्डेले तयार गरेको डिजाइन अनुसार काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न गुरुयोजना नै बनाएर अभियान थालिएको चिलुवालको भनाइ छ । सुरुमा उक्त क्षेत्रलाई पिकनिक स्पट र ¥याफ्टिङ गन्तव्यको रुपमा स्थापित गर्ने र विस्तारै स्थानीयकै लगानीमा बन्जीजम्प र प्याराग्लाइडिङ समेत सुरु गर्ने योजना समेत रहेको कतारमै कार्यरत सिभिल सर्भेयर तथा अभियानका प्रस्तावक नखोलाले बताए । अभियानकै प्रभावस्वरुप उक्त ठाउँ पिकनिक स्टपको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।

‘भविष्यमा मस्याङ्दीमाथि हाफ ब्रिज बनाएर बन्जी जम्पसुरु गर्छौं,’ चिलुवालले टेलिफोनमा भने, ‘एग्रो फार्म र रेस्टुरेन्ट पनि खोल्छौं ।’ सो ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनामा सघाउन नगर परिषद्ले सहमति जनाइसकेको उनको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी धमिलिकुवादेखि राइनासकोटसम्म पुग्ने ट्रेकिङ रुट खोल्ने र राइनासकोटमा होमस्टे सञ्चालन गर्ने योजना छ ।

भविष्यमा पर्यटकीय पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन सजिलो होस् भनेर पाँच सयजना स्थानीय सेयर सदस्यको लगानीमा सहकारी खोल्ने तयारी अन्तिम चरणमा पुगेको कतारमै कार्यरत अभियानका अर्का सक्रिय सदस्य सुरेन्द्र नखोलाले जानकारी दिए । ‘यसो गर्दा भविष्यमा त्यहाँ होटल रेस्टुरेन्ट खोल्न लगायत अन्य पूर्वाधार निर्माणको लागि आवश्यक आर्थिक स्रोत खोज्न अन्यत्र जानु नपर्ला भनेर सहकारीको अवधारणा ल्याइएको हो,’ उनले भने ।

उक्त अभियान सफल पार्न दुबई, जापान, अस्ट्रेलिया पुगेका गाउँका युवाहरु पनि सक्रिय रहेको शैलपुत्री माध्यमिक विद्यालयका शिक्षक उद्धवराज चिलुवाल बताउँछन् ।

गुरुयोजनालाई मूर्त रुप दिन नगरपालिका र अर्थमन्त्रालय लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल भइरहेको छ । आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ भन्ने भाव स्थानीयमा जागिसकेकोले चाँडै नै योजनाले मूर्त रुप लिने अभियानका अगुवा तथा यसमा सक्रियतापूर्वक लागिपरेका व्यक्तिहरु बताउँछन् ।

 

प्रकाशित: ७ वैशाख २०७४ १३:२४ बिहीबार

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल