अर्थ

ड्रागन खेती: बजार खोज्दै कृषक

फाइल तस्वीर

पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिए पनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।

विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन्।  ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए। नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरूको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्।  ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको संख्या बढ्दै गएको छ। ए पटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन्। नेपालमा खुला बजार, शीत भण्डार लगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन्।

एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन्। यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन। ‘कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्’, उनले भने।

यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए।

अघिल्लो वर्ष फार्ममै प्रतिकिलो सात सय ५० रुपैयाँमा बिक्री भएको फल यस वर्ष पाँच सय रुपैयाँमा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ।

यसै ड्रागन खेती गर्दै आएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँछन् । ड्रागन खेती विज्ञताको कमी र औषधिसम्बन्धी ज्ञान नभएका कारण रोग लाग्ने समस्या देखिएको छ। साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ। साना र ठूला किसान एकै ठाउँमा सङ्गठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८० ०६:०६ बिहीबार

ड्रागन खेती बजार खोज्दै कृषक