अर्थ

पर्सामा व्यवसायिक तरकारी खेति बढ्यो

पर्साको अलौं सिर्सियामा खेतबाट ताजा भिण्डी निकालिँदै । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– पर्सा जिल्लामा व्यावसायिक तरकारी खेति बढेको छ। यससँगै गर्मी यामको तरकारी उत्पादन पोहोरको तुलनामा बढेको छ । नगद र अन्न बालीभन्दा तुलनात्मक रुपमा बढी आम्दनी दिने हुँदा किसान तरकारी खेतीतर्फ बढी आकर्षित भएका हुन्। किसनले पोहोरभन्दा बढी जमीनमा तरकारी खेति गरेका छन्। अझ, तरकारीको उत्पादकत्व नै वृद्धि भएकोले पनि यस वर्ष जिल्लामा तराकारीको कुल उत्पादन बढेको जिल्ला कृषी कार्यालय पर्साले जनाएको छ।

यसपाली पर्सामा १ हजार ८ सय ५० हेक्टर जग्गामा गर्मी यामको तरकारी लगाएका किसनहरु प्रतिहेक्टर साढे १६ मेट्रिक टन तरकारी फलाइरहेका छन्। जिल्ला कृषि विकास कार्यालयको बागवानी कार्यक्रमका प्राविधिक श्यामकिशोर प्रसादका अनुसार यो वर्ष जिल्लमा पोहोरभन्दा करिब २ सय हेक्टर बढी क्षेत्रमा तरकारी खेती हुँदैछ।

उत्पादन दरको हिसाबले यस मौसममा जिल्लामा ३० हजार ५ सय २५ मेट्रिक टन तरकारी उत्पादन हुने देखिन्छ।  

‘तरकारी खेति गर्ने किसानको संख्या र उत्पादन आउँदो सिजनदेखि अझै बढ्ने अनुमान छ,’ प्रसादले भने, ‘व्यावसायिक तरकारी खेतिपतिमा किसानहरुको आकर्षण बढेको छ।’

उनले भनेजस्तै किसानहरुले तरकारी खेतिलाई नगद आम्दनीको भरपर्दो स्रोत मानेका छन्। ‘मैले ३ कट्ठामा भिण्डी लगाएको छु, हरेक देस्रो दिन करिब ५० किलो निस्किन्छ, सुरुमा किलोको ६० रुपैयाँभन्दा बढीमा जान्थ्यो, हिजो ४० रुपैयाँ किलोको बेचिरहेको छु,’ भिण्डी टिप्दै सपिरवार बारीमा भेंटिएका सिर्सियाका बिचारी राउतले भने, ‘सिँचाईको साधन भएको भए तरकारी खेतिमा हामीलाई सुबिधा हुने थियो।’

उनको गाउँमा मात्र २० हेक्टरभन्दा बढी जग्गामा यो वर्ष भिण्डी लगाइएको राउतले बताए। भिण्डीसँगै लहरे प्रजातीका तरकारीहरु तरोइ, बोडी, करेला, परवल, लौका, काँक्रो र टमाटर यो मौसममा उत्पादन हुन्छ । गर्मी मौसममा खुर्सानीको पनि उत्पादन हुन्छ । ६० रुपैयाँ प्रतिकिलो भन्दा बढीको भाउमा भिण्डी, बोडी र करेला बेच्न सुरु गरेका किसानले अहिले करिब ४० रुपैयाँसम्म प्रतिकिलोको दरमा बजारमा ती तरकारी पुर्याइरहेका छन् । स्थानीय अवश्यक्ताभन्दा बढी भएका पर्सा र बारामा उत्पादित तरकारी वीरगन्ज थोक बजार भएर काठमाडौं र पोखरा पठाइने गरिएको छ ।

करेला, बोडी र खुर्सानी गरी करिब १० मेट्रिक टन तरकारी काठमाडौंको कालीमाटी र बल्खु तरकारी बजारमा दैनिक रुपमा पठाउँदै आएका थोक तरकारीका व्यवसायी दुर्गाप्रसाद कुशवाहाले तरकारी बेच्न आउने किसानको संख्या बढेको बताए।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म किसनबाट नगदमा किनेको तरकारी साँझ ट्रकमा हालेर थोक बिक्रेताले पठाउने गरेका छन्। उनीहरुका अनुसार पर्साको खेतबाट निस्केको २४ घण्टाभित्र काठमाडौंका खुद्रा पसलमा तरकारी पुसिसक्ने गर्छ ।
    
 

प्रकाशित: ५ वैशाख २०७४ १३:२५ मंगलबार

पर्सामा व्यवसायिक तरकारी खेति बढ्यो