अर्थ

महिला उद्यमी हरित औद्योगिक पार्क ऐन बनाउन माग

महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्। दक्षिण एसियाली महिला विकास मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था गर्न माग गरिएको हो। महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित नीतिगत व्यवस्था गर्न अनुरोध गरेकी छन्।

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपाल सरकारले विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्रामको अवधारणाको व्यवस्था गरेझैं महिला उद्यमी र हरित अर्थतन्त्रका लागि औद्योगिक क्षेत्र-पार्क स्थापना गर्न आवश्यक रहेको बताइन्। ‘काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरेको निर्णय निकै राम्रो छ,’ उनले भनिन् ‘अन्य ६ प्रदेशमा पनि यस्तै पार्क स्थापनाका लागि महिला उद्यमी हरित औद्योगिक पार्क ऐनको रूपमा कानुन बनाउन सरकारसँग माग गर्दछु।’ उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिकाको महत्वबारे जोड दिएकी थिइन्।  

समितिकी अध्यक्ष रिजालले दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा (एएए मोडल), प्रदेश ३ पाँचखाल नगरपालिकाको होक्सेमा सुरु गरेको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजना केन्द्रित प्रस्तुति दिएकी थिइन्। नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यका साथ पार्कलाई ‘कृषि–पर्यटन हरित औद्योगिक पार्कको रूपमा ब्राण्ड र प्रचार गरिने उनले बताइन्।  

यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो, जसमा कृषि खाद्यक्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिनेछन्। पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले यस पहलले महिला उद्यमशीलताको विकास र पाँचखालको आर्थिक वृद्धिमा कसरी योगदान पु¥याउन सकिन्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गरेका छन्। उनले हरित औद्योगिक पार्क परियोजनाका केही फाइदाहरू बारे पनि अवगत गराए। त्यसक्रममा उनले किसानहरूको उत्पादकत्व वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधारको निर्माण, प्रभावकारी आपूर्ति शृङ्खला प्रणाली, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना समावेश भएकोमा जोड दिए। प्रदेश ३ को सांसद याकिला शेर्पाले नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

प्रकाशित: ३० जेष्ठ २०८० ०३:०२ मंगलबार

महिला उद्यमी हरित औद्योगिक पार्क ऐन बनाउन माग