अर्थ

सेयर बजारमा उच्च उतार–चढाव

काठमाडौं- सेयर बजार खुलेको छोटो समयमा नै नेप्से २७ अंकले बढेको थियो। तर, त्यो बृद्धि भने लामो समय रहन सकेन्। बजार बन्द हुने समयमा नेप्से उल्टो ७ अंकले घटेर बन्द भयो।

पछिल्लो समयमा केही ठूला लगानीकर्ताले सेयर बजारमा अनेक हल्ला चलाउने अनि नेप्से माथि लैजाने  र कारोबारको मध्यान्तरपछि त्यो हल्ला मित्थ्या सावित भएपछि पुनः घटाउने गरेका छन्। बुधबार पनि त्यस्तै हल्ला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको समाचार फैलिएपछि सेयर बजार प्रभावित हुन पुग्यो। यसअघि मंगलबार पनि लघुवित्तको चुक्ता पुँजी बढ्ने भन्ने समचार आएपछि उक्त कम्पनीको सेयर बढन पुग्यो। तर, पछि केही लघुवित्त कम्पनीको सेयर बाहेक अन्यको मूल्य घट्यो।

हल्लाकै भरमा सेयरमा उत्तार–चढाव हुने गरेको छ। नेपाल धितोपत्र बोर्डले पनि सेयर बजारमा अनाबश्यक हल्ला फैलाउने काम भएको भन्दै त्यस्तो हल्लाको पछाडि नलाग्न लगानीकर्तालाई बुधबार बिज्ञप्ति जारी गरेरै अनुरोध गरेको छ।

बुधबार बजार घटेपनि दुई अर्ब ७ करोड बराबरको सेयर किनबेच भयो। बुधबार नेप्से ६.७५ अंकले घटेर १७०३.०७ अंकमा झरेको छ। उक्त दिन १४५ कम्पनीको  सेयर कारोबार भएको थियो।

चैत महिनाको सुुरुमै निरन्तर उकालो लागेर थियो। तर, बुधबार लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लागेपछि एकाएक बजारमा गिरावट देखिएको ब्रोकरको भनाइ छ।

बुधबार वाणिज्य बैंक, जलविद्युत र बिमाबाहेक बाँकी समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक १४०.८४ विन्दुले तल झरेको छ। होटल समूहको सूचक भने २३.८६ अंकले बढेको छ। यसैगरी, उत्पादनमूलक समूहको सूचक पनि २३.६१ अंकले बढेको छ।

प्रकाशित: ३१ चैत्र २०७३ ०३:२७ बिहीबार

सेयर बजारमा उतार–चढाव