अर्थ

उचित मूल्य नपाउँदा गोलभेडा बारीमै

उदयपुरको कटारी नगरपालिका-११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेडा उत्पादन गरेका छन्। तर गोलभेडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ। बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन्।

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुला रुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेडा उत्पादन गरिएको छ। उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेडा उत्पादन भएको गोलभेडा सङ्कलन केन्द्रका नुजराज कार्कीले बताए।

उदयपुरको कटारी नगरपालिका-११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्।

‘उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन’, उनले भने, ‘हामीसँग चिस्यान केन्द्र पनि छैन। भण्डारण गरेर राख्न सक्ने अवस्था छैन।’

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेडा सङ्कलन गर्ने गरेको छ। चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन।

कृषक पुष्पराज खड्का गोलभेडा उत्पादन भएकामा जति खुसी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा  दुःखी छन्। ‘प्रतिकिलो गोलभेडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’

कार्कीका अनुसार उक्त वडाको गोलभेडा ओखलढुङ्गा,  सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ। ‘उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौं’, कार्कीले भने, ‘केन्द्रले प्रतिकिलो तीन रुपैयाँ राखेर कृषकलाई दिँदा कृषकले मुश्किलले किलोको ३० रुपैयाँ सम्म पाउँछन्।’

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन्। नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ। ‘व्यापारीले हामीलाई ३० रुपैयाँभन्दा बढी दिंदैनन्’, उनले भने, ‘कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन्।’

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन्। नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ।

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटे लगायत गाउँमा गोलभेडा पर्याप्त मात्रामा उत्पादन भएको छ। यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन्।

उत्पादन बढ्दै गए पनि कृषकले बजारसम्म गोलभेडा पुर्‍याउन सकेका छैनन्। वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताए। बजारमा भारतबाट आयात गरिएको गोलभेडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो। स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ।  

प्रकाशित: २५ जेष्ठ २०८० ०३:५८ बिहीबार

उचित मूल्य नपाउँदा गोलभेडा बारीमै स्थानीय उत्पादन बजारीकरण